नुवाकोट – संसारकै सबैभन्दा बढी उमेर दाबी गरिएकी नुवाकोटको ककनी निवासी वृद्धाले १२०औं जन्म जयन्ती मनाएकी छन् । जन्मदिनमा बिहीबार सरकारी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उनको घरमै पुगेर शुभकामना दिएका थिए ।
उनी विश्वकै सबैभन्दा जेष्ठ नागरिक रहेको भन्दै विश्व रेकर्डमा नाम लेखाउन सक्रियतासमेत बढाइएको छ । उनलाई सरकारीस्तरबाट विभिन्न सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको छ । उनलाई सरकारले घर बनाइदिएको छ भने सांसद तथा स्थानीय तहले मासिकरुपमा नियमित भत्ता दिइरहेको छ ।
सदरमुकाम विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिका-८ थानसिङ छापथोककी १२० वर्षीया बाटुली लामिछानेलाई विश्वकै ज्येष्ठ नागरिक भएको दाबी गरिएको छ । विसं १९५९ चैत १० गते सिन्धुपाल्चोकको साविक बाँसबारी गाविस-१ गिरानचौरमा माता देवीकुमारी र पिता जयनारायण तिवारीको कोखबाट जन्मिएकी वृद्धा बाटुली नुवाकोटको पूर्वी भेगमा रहेको ककनी गापा-८ छापथोकमा छविलाल लामिछानेसँग विवाह गरेर आएको अभिलेखमा उल्लेख छ ।
हालः उनका एक छोरा, चार नातिनी, पाँच पनाती, पाँच पनातिनी र एक जनातीसँगै रहेकी छन् । उनलाई ‘जीवित देवी’को उपमा समेत दिइएको छ । उनको स्वास्थ्य सामान्य र उचित रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । उनी बिहान-बेलुका दुधसँग मासिनो गरी पिसेको भात र अन्य समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर आफ्नो दैनिकी बिताउने गरेकी छन् ।
हालसम्म विश्वमा ११८ वर्षीय जापानी नागरिक काने तानाकाको नाममा उक्त रेकर्ड देखिएको छ । तानाकाभन्दा जेठी लामिछानेलाई नेपालले अभिलेखीकरणको प्रक्रियामा ढिलाइ गरेकाले उक्त विश्व पहिचान प्राप्तिमा ढिलाई भएको उनलाई सहयोग गरिरहेका बागमती प्रदेश सभाका सदस्य तथा नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले बताए ।
लामिछानिका ८१ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने रातिको समयमा आमालाई दिशापिसाब आउँदा उठेर सामान्य हिँड्न पनि सक्ने र त्यसक्रममा लड्नसक्ने भएकाले एक जनाले नियमित रेखदेख गर्ने गरेको बताए । छोरा नेत्रप्रसाद जन्मेपछि धन कमाउन परदेशिएका बाटुलीका पति हालसम्म घर फर्किएका छैनन्।