काठमाडाैं – पोखरालाई ५-६ घण्टा दूरीमा रहेका अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिनका लागि बन्दै गरेको पोखरा क्षेत्रीय विमानस्थल निर्माणको अन्तिम चरणमा आएर चिनियाँ ऋणको पासोमा पर्ने हो कि भनेर चासो र विवाद बढ्न थालेको छ ।
नेपाल सरकारले चिनियाँ एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकमार्फत लिएको महँगो ब्याजदरको कर्जा, चिनियाँ निर्माण कम्पनी मात्र प्रतिस्पर्धामा सहभागी हुन पाउने सर्त, कर्जा तिर्न नसकेमा हुने खतरा र तुलनात्मक रूपमा महँगो भएका कारण यो विमानस्थलको निर्माणप्रति विवाद र चासो बढेको हो ।
चीनको एक्जिम बैंकसँग २ प्रतिशत ब्याजमा कर्जा लिई निर्माण गरिरहेको पोखरा क्षेत्रीय विमानस्थलको कर्जामा संघीय सरकारका गृहमन्त्रीदेखि सर्वसाधारणसम्मले आशंका गरेका छन् । भैरहवामा निर्माणाधीन गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलभन्दा अत्यधिक लागतमा र कर्जाको ब्याजदर पनि तुलनात्मक रूपमा महँगो भएका कारणले पनि पोखरा क्षेत्रीय विमानस्थलको चर्चा र विरोध हुन थालेको हो ।
संघीय गृहमन्त्री बालकृष्ण खाँडले राष्ट्रिय सभागृहमा मंगलवार भएको एक कार्यक्रममा पोखरा विमानस्थलमा भइरहेको लागतमाथि प्रश्न गर्दै छिमेकी राष्ट्र चीन सरकारको ऋण लगानीमा निर्माण भइरहेको पोखरा क्षेत्रीय विमानस्थलको लागत भैरहवा विमानस्थलको भन्दा बढी हुनुको कारणसमेत मागेका थिए । यद्यपि उनले चीन सरकारको नाम भने प्रत्यक्ष रूपमा लिएका थिए ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा खाँडले भैरहवा विमानस्थलभन्दा पोखरा विमानस्थलको लागत चर्को भएको र यसको कारण के हो भन्ने विषयमा खोजी हुनुपर्ने बताए । नेपाल सरकार र एसियाली विकास बैंकको लगानीमा ३ हजार मिटर धावन मार्ग भएको गौतमबुद्ध विमानस्थललाई ७ अर्ब र २५ सय मिटर धावनमार्ग भएको पोखराको लागत २१ अर्ब किन र कसरी भयो भन्ने प्रश्न खाँणको थियो।
उनले भने,‘गृहमन्त्री भएकै कारण सार्वजनिक फोरमबाट विमानस्थलको नाम र लगानी गर्ने देशको नाम भने लिन्न,’ यद्यपि भइरहेको लगानीबारे बहस हुनुपर्ने उनको भनाइ थियो। चीन सरकारले विमानस्थल निर्माणमा आफ्नै ठेकेदार मात्रै रहन पाउने प्रावधान राख्नु पनि अचम्मको विषय भएको भन्दै उनले आलोचना गरेका थिए । उनले एमसीसी वा चीन सरकारको नाम भने उच्चारण नगरीकन अप्रत्यक्ष रूपमा भनेका हुन् ।
खासगरी, सरकारले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान लिने विषयमा तर्कवितर्क भएपछि एमसीसी पक्षधरहरूले चीनको विरोध गर्नकै लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा चर्चा गर्न थालिएको हो ।
एमसीसी परियोजना अनुदान रहेको र चीनको सहयोग चर्को ब्याजको ऋण भन्दै सामाजिक सञ्जालमा भाइरल गर्न थालिएको छ । विमानस्थल निर्माण टेन्डर गर्दा नै चिनियाँ कम्पनीलाई मात्र दिनुपर्ने र तुलनात्मक रूपमा महँगो निर्माण लागत अनि ब्याजका कारणले पनि यसको चर्चा बढ्न थालेको हो । राजधानी दैनिकबाट