आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ । रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धहरूबाट जोगाउने कुनै कोसिस बेइजिङले गर्न नहुने बताएका छन् । उनले चीनका वरिष्ठ विदेश नीति अधिकारी याङ जेइचीसँग रोममा भेट्दैछन् । फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङसँग त्यस्तो मद्दत मागेको थियो ।

तर विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन । ती विवरणमा चीनले मद्दतको तयारी गरिरहेको पनि उल्लेख गरिएको छ । वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताए । उनले चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको बताए । हालसम्म चीनले रुस-युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ ।

उसले युक्रेन अतिक्रमणलाई लिएर रुसको निन्दा भने गरेको छैन । रुसलाई पश्चिमा प्रतिबन्ध छल्न सहयोग गरे चीनले त्यसको परिणाम भोग्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया