मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

टोकियो – जापान सरकारले सीमा प्रतिबन्ध खुकुलो गरेपछि देशमा प्रवेश गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गर्न आपतकालीन नगद ह्यान्डआउट कार्यक्रमको निर्णय गरेको छ ।

यस कार्यक्रम अन्तर्गत यस महिनाको अन्त्यसम्ममा जापानमा प्रवेश गरी विश्वविद्यालय वा अन्य शैक्षिक संस्थाहरूमा भर्ना भएका र आर्थिक रूपमा संघर्ष गरिरहेका नेपाली सहित प्रत्येक विद्यार्थीहरू एक लाख येनको सहायताको लागि योग्य मानिने छ ।

महामारीका कारण पार्टटाइम काम पाउन कठिनाई वा अन्य कारणले आर्थिक संकटमा परेकाहरुलाई यो रकम दिइने भएको हो । अप्रिलमा सुरु हुने नयाँ शैक्षिक वर्ष अघि मार्चको अन्त्यसम्म अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई जापान प्रवेश गर्न प्रोत्साहन गर्ने हेतुले सो कार्यक्रम अगाडी बढाइएको हो ।

यसका साथै विदेशी विद्यार्थीहरूलाई तिव्र रुपमा जापान भित्र्याउन सरकारले विद्यार्थीहरूलाई उडानमा प्राथमिकता दिने लगायतका उपायहरुमा जोड दिने भएको छ । देशको शिक्षा क्षमता अभिवृद्धि गर्न र मित्र राष्ट्रहरूसँग सौहार्दपूर्ण सम्बन्धलालाई मध्यनजर गर्दै विदेशी विद्यार्थीहरूलाई स्वीकार गर्नु अत्यन्त महत्त्वपूर्ण हुने सरकारको भनाई छ ।

महामारीको कारण आर्थिक प्रभावमा परेका विश्वविद्यालय, स्नातक विद्यालय वा अन्य शैक्षिक संस्थाहरूमा भर्ना भइसकेका जापानी र विदेशी विद्यार्थीहरूका लागि पनि सरकारले सोही नगद हस्तान्तरण रकमका लागि आवेदनहरू स्वीकार गर्ने बताइएको छ ।

जापानले कोरोना कारण जारी सीमा नियन्त्रण मार्च १ देखि पर्यटकहरू बाहेक अन्य विदेशी आगन्तुकहरूको लागि खुकुलो पारेको हो ।

तपाईको प्रतिक्रिया