आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – अर्घाखाँची समाज जापानले पाठेघरको क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका -३ फ्रसवा निवासी विमला गौतमलाई २ लाख ४ हजार ५५ येन सहयोग गरिएको हो ।

समाजका कोषाध्यक्ष टोप बहादुर घर्तीमगरको संयोजकत्व र दिल प्रसाद श्रेष्ठको सह-संयोजकत्वमा अभियान सञ्चालन गरेको थियो । अर्घाखाँची समाज जापानको विशेष पहल रहेको अभियानमा जापानमा रोजगारी गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तित्वबाट उक्त रकम संकलन गरिएको समाजका अध्यक्ष दीपक थापाले जानकारी दिए ।संकलित रकम नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सचिव विनोद गैरेमार्फत विमला गौतमको घरमै पुगेर हस्तान्तरण गरिएको हो । समाजले आफ्नो स्थापनाकालदेखि नै जिल्लामा समस्या पर्दा सहयोग गर्दै आएको छ । यो पटक पनि बिरामी विमलाको आर्थिक अवस्था नाजुक भएकोले सहयोग अभियान सञ्चालन गरिएको अध्यक्ष थापाको भनाई छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष देव बहादुर केसीले विमलाको उपचारको लागि वडाबाट हुने हरेक सहयोग गर्न तत्पर रहेको बताएका थिए । रकम हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघका सचिव गैरेले सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गरे । कार्यक्रमका ग्लोबल आईएमई बैंक अर्घाखाँचीका शाखा प्रमुख प्रल्हाद न्यौपाने, मुमाराम गैरे समेतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया