काठमाडौं – यती एयरलाइन्सले आन्तरिक वायुसेवामा इलेकट्रोनिक ब्यागेज ट्याग प्रयोगमा ल्याएको छ । अबदेखि यती एयरलाइन्समार्फत काठमाडौँबाट यात्रा गर्ने यात्रुहरूको लगेज तथा सर-सामानमा इलेकट्रोनिक ट्याग रहनेछ ।
अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाहरूले यसको प्रयोग पहिलेदेखि नै गर्दै आए पनि आन्तरिक वायुसेवामा यतीले पहिलोपटक यसको प्रयोग गरेको कम्पनीको दाबी छ। पहिलो लकडाउनपछि इलेकट्रोनिक बोर्डिङ पासको सुरुआत गरेको यतीले हाल ब्यागेज ट्यागलाई पनि अटोमेटिक सिस्टममा लगेको बताएको छ ।
सुरक्षात्मक प्रणालीलाई आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै चुस्त र स्तरयुक्त बनाउने अभियान अनुरूप यसको सुरुवात गरेको एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।
प्रवक्ता बर्तोलाले भने, ‘यती एयरलाइन्स यात्रुहरूको तथा यात्रुको सर–सामानको सुरक्षामा सधैँ संवेदनशील छ, हाम्रो सुरक्षात्मक प्रणालीलाई आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै चुस्त र स्तरयुक्त बनाउने अभियान अनुरूप यसको सुरुआत भएको हो। यसको प्रयोगले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा सञ्चालनमा मद्दत छ ।’
उनका अनुसार पहिलो चरणमा परीक्षणका लागि काठमाडौँबाट जाने लगेज तथा सर–सामानमा यसको प्रयोग गरिनेछ।