टोकियो – जापानमा वित्तीय जानकारी कार्यक्रम हुने भएको छ । एनआरएनए जापानले अर्थ मन्त्रालयसँगको सहकार्यमा यही १८ तारिख शनिबारका दिन वित्तीय जानकारी कार्यक्रम आयोजना गर्ने भएको हो ।
१८ तारिख जापानी समयअनुसार साँझ ६ः१५ बजेदेखि सुरु हुने कार्यक्रममा, गैर आवासीय नेपाली र नेपालीहरूबाट प्रवर्द्धित संस्थाले नेपाली बैङ्कमा अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, जापानी येन र चिनियाँ युआनमा मुद्दती एवं बचत खाता खोल्नबारे जानकारी दिइने छ । यसै गरी विदेशी मुद्रामै आफ्नो बचत लैजान सक्ने एवं न्यूनतम ५ हजार अमेरिकी डलर वा सो बराबरको बचत गर्न सकिने व्यवस्थाबारे जानकारी गराइने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार, अर्थमन्त्री जनार्दन शर्मा प्रमुख अतिथि रहने कार्यक्रममा सम्पत्तिको स्थानान्तरण सम्बन्धमा भएका खाता खोल्नका लागि आवश्यक कागजात एवम् प्रावधानहरूबारे जानकारी तथा अन्तरक्रिया हुनेछ । अनलाइन प्लेटफर्म जुममा आयोजना हुने कार्यक्रम एनआरएनए जापानको अफिसियल फेसबुक पेजका साथै अन्य विभिन्न सञ्चार माध्यमहरूबाट समेत प्रत्यक्ष प्रसारण गरिनेछ ।