शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – थाइल्याण्डले १८ महिनापछि कोभिड प्रतिबन्धहरू खुला गर्दै नेपालसहित ६० भन्दा बढी देशका पर्यटकहरूलाई प्रवेश अनुमति दिएको छ । प्रतिबन्ध खुल्ला गरिएपछि आजै दसौँ हजार पर्यटकहरूको आगमन हुने अपेक्षा गरिएको छ ।

‘कम जोखिम’ भएका ६३ देशका खोप लगाएका पर्यटकहरूलाई प्रवेश अनुमति दिएको थाइल्याण्डले होटल क्वारेनटिनलाई पनि हटाएको बीबीसीले जनाएको छ । यसरी प्रवेश अनुमति पाउने देशमा नेपाल पनि परेको थाइल्याण्डस्थित नेपाली राजदूतावासकी फस्र्ट सेक्रेटरी (प्रथम सचिव) प्रतिज्ञा राईले जानकारी दिइन् ।

थाइल्यान्ड प्रवेश गर्नुअघि कम्तीमा तीन हप्ता उसले अनुमति दिएको देशमा रहेको हुनुपर्नेछ । यस्तै खोप लगाएको प्रमाणपत्र र ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट पनि आवश्यक पर्नेछ । पर्यटकहरूले सुरुमा एक दिनको होटल बुकिङ गर्नुपर्नेछ । त्यहाँ पनि कोभिड परीक्षण गरिने छ । यदि कोभिड पोजेटिभ देखिएमा भने क्वारेनटिनमा बस्नुपर्नेछ ।

अर्को वर्ष पर्यटकको सङ्ख्या एक करोड ५० लाख पुग्ने र यसबाट ३० अर्ब अमेरिकी डलर भित्रने प्रक्षेपण गरिएको छ । यद्यपि, धेरै देशहरूले अझै प्रतिबन्धहरूको सामना गरिरहेका छन् । ४२ प्रतिशत मानिसहरूले मात्र पूर्ण खोप लगाएका छन् । थाइल्याण्डमा अझै प्रतिदिन झन्डै १० हजार कोभिड सङ्क्रमण दर्ता भइरहेको छ ।

‘यो सुरुङको अन्त्यमा मधुरा प्रकाश देखिए जस्तो हो, हामीले दुई वर्ष काम गर्न सकेनौँ’, पर्यटन पथप्रदर्शक चाइयागोर्न बुनियापाकले भने । तर, उनी र उनका सहपाठी पथपर्दशकहरूलाई अहिलेसम्म ग्राहक र पर्यटन कम्पनीले सम्पर्क गरेका छैनन् । यसका लागि अझै एक महिना लाग्न सक्छ ।

‘सरकारले साँच्चिकै सजिलैसँग देशलाई खुला गर्छ भन्ने हामीलाई थाहा छैन तर मलाई आशा छ उनीहरूले यो काम गर्न सक्छन् । हामीलाई फेरि काममा फर्कन एकदम मन छ’, उनले भनेका छन् । कोरोना भाइरसले थाइल्याण्डको अर्थतन्त्रलाई थला पारेको छ । थाइल्याण्डले पहिले एक वर्षमा ४ करोड पर्यटकलाई आकर्षित गर्थ्यो । गत वर्ष पर्यटकहरूको आगमन ८० प्रतिशत भन्दा बढीले घटेको थियो ।

युके, चीन, जापान, अमेरिका र अधिकांश युरोपका मुलुकहरूलाई ब्याङ्कक र फुकेट विमानस्थल खुला गरिँदै छ । थाइ सरकारले २०२३ सम्म आम्दानी कोभिडपूर्वको अवस्थाकै तहमा पुग्ने अनुमान गरेको छ । यद्यपि, धेरै उद्योग विज्ञहरूले चीनको जारी सीमा बन्दले यस क्षेत्रको पुनरुत्थानमा बाधा पुग्ने बताएका छन् ।

महामारीपूर्व सबैभन्दा ठूलो सङ्ख्यामा चिनियाँ पर्यटक थाइल्यान्ड पुगेका थिए । सन् २०१९ मा चीनबाट १ करोड २० लाख पर्यटकले थाइल्यान्ड भ्रमण गरेका थिए ।

तपाईको प्रतिक्रिया