बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडाैं – चुहावट भएका आन्तरिक गोप्य कागजातहरूका कारण सिर्जना भएको विवादको परिणाम स्वरूप कम्पनीले भोगेको दबाबबीच फेसबुकले तेस्रो चौमासिकमा अपेक्षा गरेभन्दा राम्रो नाफा कमाएको छ ।

विश्वकै विशाल मध्येको यो सामाजिक सञ्जालले सेप्टेम्बरसम्मको तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको बताइएको छ । अघिल्लो वर्षको यही अवधिमा उसको नाफा ७.८ अर्ब डलर थियो । तर एपलको प्रणालीमा आएको नयाँ अपडेटका कारण फेसबुकलाई लक्षित समूहसम्म विभिन्न ब्रान्डका विज्ञापन पठाउन कठिन भएको थियो ।

एक जना पूर्व कर्मचारीले फेसबुकमाथि अनैतिक व्यवहारहरूको आरोप लगाइरहँदा उसको नाफा भने अझै बढेको देखिएको हो । फ्रान्सिस् हाउगनले फेसबुकले प्रयोगकर्ताहरूको सुरक्षा भन्दा आफ्नो नाफामा ध्यान दिएको आरोप लगाउँदै एउटा आन्तरिक कागजातको विवरण सार्वजनिक गरेकी थिइन् ।

विभिन्न समाचार विवरणहरूले फेसबुकले अमेरिका बाहिर घृणा फैलाउने भाषण र यौन बेचबिखनलाई बढवा दिने सामाग्रीलाई मध्यस्थता गर्न सङ्घर्ष गरिरहेको सार्वजनिक गरेका थिए । फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले सोमबार लगानीकर्ताहरूलाई भने- ‘चुहावट भएका कागजात प्रयोग गरेर सङ्गठित रूपमा हाम्रो कम्पनीलाई बदनाम गर्ने प्रयास भइरहेको हामीले देखिरहेका छौँ ।’

फेसबुकले सेप्टेम्बर ३० सम्मको १२ महिनामा आफ्ना प्रयोगकर्ताहरू ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको जनाएको छ ।

तपाईको प्रतिक्रिया