आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै उनीहरूको स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया गरेको हो । अन्तरक्रिया कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तपास अधिकारी, मानवअधिकारकर्मी घइस गिलानी, एनआरएनए टर्कीका अध्यक्ष उज्वल घिसिङलगायतले आ-आफ्ना भनाइ राखेका थिए ।

स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाको संयोजकत्वमा भएको कार्यक्रममा राजदूत अधिकारीले पाकिस्तानमा करिब तीन सय जना नेपालीहरू रहेको बताए । उनले ती मध्ये अधिकांश स्वास्थ्यसम्बन्धी अध्ययनको लागि आएका विद्यार्थी भएको र स्वास्थ्य अवस्था राम्रो रहेको बताए । उनले नेपालीहरूले समेत पाकिस्तानमा कोरोनाविरुद्धको खोप लगाउने अवसर पाएको जानकारी दिए ।

उनले पाकिस्तानमा रहेका नेपालीहरूलाई आवश्यक सहयोग गर्न राजदूतावास प्रतिबद्ध रहेका बताए । मानवअधिकारकर्मी घइस गिलानीले अन्तरक्रियामा अफगानिस्तान र पाकिस्तानमा मानवअधिकारको अवस्था कमजोर रहेको बताए । उनले पाकिस्तानमा ९० प्रतिशत जनताको कोभिड-१९ विरुद्धको खोपमा पहुँच रहेको बताए । उनले अफगानिस्तानमा भएको राजनीतिक परिवर्तनपछि नेपालीलगायत कयौँ आप्रवासीहरू पाकिस्तानतर्फ पलायन भएको बताए ।

उनले तालिबानले अफगानिस्तानको सत्ता लिएपछि स्वास्थ्य तथा आर्थिक क्षेत्रमा अन्योल रहेको बताए । कार्यक्रममा एनआरएनए टर्कीका अध्यक्ष घिसिङले टर्कीमा रहेका नेपालीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै विगत एक वर्षमा दुई जना नेपालीले आत्महत्या गरेको जानकारी दिए । अफगानिस्तानमा तालिबानले सत्ता कब्जामा लिएपछि १ हजारभन्दा बढी नेपालीहरूको उद्धार गरिएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार अहिले साढे तीन सय नेपालीहरू उद्धारको पर्खाइमा रहेका छन् भने विभिन्न कम्पनीमा १५ सय भन्दा बढी नेपाली त्यहाँ कार्यरत छन् ।

तपाईको प्रतिक्रिया