काठमाडौं — विश्वमा सूचना प्रविधिको दिन दुई गुणा र रात चार गुणा विकास भइरहेको छ । उक्त क्षेत्रमा सबैभन्दा धेरै विकास चीनले गरेको देखिन्छ । त्यहि क्रममा उसले सन् २०२५ सम्ममा ८० करोड जनाले फाइभजीको प्रयोग गर्ने प्रक्षेपण गरेको छ ।
चीनमा फाइभजी मोबाइल बोक्नेको संख्या आगामी सन् २०२५ को अन्त्यसम्ममा ८३ करोडभन्दा बढी पुग्ने अन्तर्राष्ट्रिय मोबाइल अपरेटर संघ जीएसएमए लिमिटेडका सीइओ जोन होफम्यानले बताएका छन् ।
गत आइतबार पूर्वी चीनको चच्याङ प्रान्तको उचनमा भएको इन्टरनेटसम्बन्धी शिखर सम्मेलनलाई भिडियो कन्फरेन्सबाट सम्बोधन गर्दै होफम्यानले २०२५ को अन्त्यसम्ममा विश्वमा फाइभजी प्रयोगकर्ताको संख्या २ अर्ब पुग्न सक्ने बताएका छन् ।
उनले भने ‘फाइभजी नेटवर्कको सेवा विश्वभरि धेरै उपभोक्ताहरु र उद्यमसम्म पुगेकाले यसको मार्केटिङ सबैभन्दा अगाडि छ ।’ चीन सरकारले फाइभजीको बिस्तारलाई उच्च प्राथमिकता दिएको छ ।
होफम्यानले आगामी चार वर्षमा विश्वमा फाइभजीको निम्ति ९ अर्ब अमेरिकी डलरसम्म लगानी हुने अपेक्षा राखेका छन् । उनले भने सूचना प्रविधिमा आएको पछिल्लो विकाससँगै फाइभजीले सर्वसाधारण,उद्यम,उद्यमी र सरकारलाई समाज परिवर्तन गर्न र जनजीवनलाई सकारात्मक प्रभावित बनाउन सघाएको दाबी गरेका छन् ।