आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाको सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको छ । काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ ।

उक्त फौज फिर्ती अभियानको सुपरिवेक्षण गरेका जनेरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको बताए । अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीले भने, ‘हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टीन विमान उडेको छ । योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ । जुन मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जस अन्तर्गत ओसामा विन लादेन तथा उनका थुप्रै अल कायदा षडयन्त्रकारीहरूमाथि कारबाही भएका थिए ।’

उनले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दशकमा २४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको बताए ।

अन्तिम क्षण
अन्तिम अमेरिकी विमान बाहिरिएसँगै, तालिबानहरूले काबुलको रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर अनि मेसिन गनमार्फत गोली चलाएर खुसीयाली मनाएका थिए ।

यसअघि नै अमेरिकी राष्ट्रपति जो बाइडनले अगष्ट ३१ भित्र अमेरिकाबाट फौज फिर्ता गर्ने बताएका थिए । पछिल्लो दुई हप्ताभन्दा थोरै बढी अवधिमा अमेरिकी, अरू विदेशी र अफगान गरी लगभग १ लाख २० हजार जनालाई उद्धार गरिएको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति बाइडनले फौज फिर्तीबारे मङ्गलवार अमेरिकी जनतालाई सम्बोधन गर्दैछन् । उद्धार कार्यमा संलग्न सबैलाई धन्यवाद दिँदै उनले मानवीय सहयोग र अफगानिस्तान छाड्न चाहनेहरूको आवतजावतको सुनिश्चितताका लागि तालिबानहरूसँग निरन्तर रूपमा कूटनीतिक तहबाट वार्ता गरिनुपर्ने उल्लेख गरेका छन् ।

अघिल्लो साता इस्लामिक स्टेट खोरोसान समूहको आक्रमण बेहोरेको काबुल विमानस्थलमा सोमबार पनि बारम्बार रकेट हमला गरिएका थिए । अमेरिकी सेनाले गरेको एउटा ड्रोन आक्रमणमा आइतबार ६ बालबच्चा सहित १० जना मारिएको उनीहरूका आफन्तहरूले बताइरहेका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले विमानस्थलका गैरसैनिकमाथि हुनसक्ने आक्रमण रोक्न आफूले ड्रोन हमला गरेको भन्दै ती विवरणको अनुसन्धान गरिरहेको जनाएको छ ।

पेन्टागनको पत्रकार सम्मेलनमा जनरल मकेन्जीले सन् २००१ सेप्टेम्बर ११ को केही पछि अफगानिस्तानमा सुरु भएको सैनिक कारबाही समाप्त भएको घोषणा गरेका थिए । तर हाल तोकिएको समयसीमाभित्र उद्धार हुन नसकेका व्यक्तिहरूको कूटनीतिक ढङ्गबाट उद्धार प्रयास जारी राखिने उनले उल्लेख गरे ।

स्वतन्त्रता कि अनिश्चितता
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले एउटा प्रस्ताव पारित गर्दै पश्चिमा युद्ध प्रयासलाई समर्थन गर्ने अफगानहरूलाई देश छाड्न दिने सहितका प्रतिबद्धता तालिबानले पालना गर्ने अपेक्षा गरेको छ । उक्त प्रस्तावमा प्रतिआतङ्कवाद, मानवअधिकार र मानवीय सहायता अनि अफगानिस्तानको नयाँ चरणलाई समर्थन गर्ने केही निश्चित सर्तहरू उल्लेख गरिएका छन् ।

तर काबुलस्थित एकजना बीबीसी संवाद्‍दाता भन्छिन् चार करोड जनसङ्ख्या भएको अफगानिस्तानमा नयाँ अनिश्चित अध्याय सुरु भएको छ । अमेरिकाको सर्वाधिक लामो युद्ध अन्त्य भएको भएपनि अफगानहरूको दैनिक सङ्घर्ष अन्त्य भएको छैन । कैयौँ अफगानहरू तालिबानबाट बदलाभाव राखिने भन्दै चिन्तित रहेको उल्लेख गर्दै उनले तालिबानका समर्थकहरूले इस्लामवादी राज्यको स्थापनाको माग गर्ने बताइन् ।

तपाईको प्रतिक्रिया