आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं –  उत्तर कोरियाले आफ्नो योङब्योन आणविक भट्टी (न्युक्लियर रियाक्टर) पुनः शुरु गरेको देखिएको संयुक्त राष्ट्रसंघको परमाणु एजेन्सीले बताएको छ । द इन्टरन्यासनल एटमिक इनर्जी एजेन्सी (आईएईए) ले जारी गरेको एक प्रतिवेदनमा उत्तर कोरियाले परमाणु रियाक्टर परिसरमा आणविक हतियार बनाउन प्रयोग हुने प्लुटोनियम उत्पादन गरिएको विश्वास गरिएको उल्लेख गरिएको छ ।

प्योङयाङले आईएईएलाई सन् २००९ मा कोरियाबाट निष्कासित गरेको थियो । तर, आईएईएको योआकलन स्याटलाइट (उपग्रह) तस्बिरहरूमाथि निर्भर छ । आईएईएका अनुसार जुलाईदेखि रियाक्टरले चीसो पानी छोडिरहेको छ, जसले यो सञ्चालनमा छ भन्ने जनाउँछ ।

पाँच मेगावाट रियाक्टरसहितका योङब्यान परमाणु परिसर उत्तर कोरियाको परमाणु कार्यक्रमको मुटु (प्रमुख केन्द्र) हो । आईएईएले सो परिसरको रेडियोकेमिकल प्रयोगशालाको बारेमा पनि धेरै विवरणहरू दिएको छ, जुन प्रयोग भइसकेका परमाणु इन्धनलाई पुनः प्रशोधन गर्छ । सो एजेन्सीले ल्याब सञ्चालनको बारेमा यसअघि जुनमा नै ध्यानाकर्षण गराएको थियो ।

पछिल्लो प्रतिवेदनले सो प्रयोगशाला २०२१ जुलाईसम्म सञ्चालन भइरहेको बताएको छ, जुन प्रयोगशालाले खर्च भएको परमाणु इन्धनलाई व्यवस्थापन गरेको थियो । आईएईएले रियाक्टर र प्रयोगशालामा भएको विकास धेरै चिन्ताजनक र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का संकल्पहरूको स्पष्ट उल्लङ्घन भएको बताएको छ ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले ‘संयुक्त राज्य अमेरिकासँगको निकट सहकार्यमा उत्तर कोरियाको पारमाणविक र क्षेप्यास्त्र गतिविधिको निरन्तर निगरानी गरिहेको’ योनह्याप समाचार संस्थालाई बताएको छ । उत्तर कोरियाले आईएईएलाई निष्काशित गरेदेखि परमाणु हतियार विकासलाई निरन्तरता दिएको छ । उसले २०१७ मा अन्तिम परीक्षण गरेको थियो । एजेन्सी

तपाईको प्रतिक्रिया