आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – सय्यद सादात राष्ट्रपति असरफ गनीको सरकारमा अफगानिस्तानका सञ्चार मन्त्री थिए । सन् २०१८ मा मन्त्री पदबाट राजिनामा दिएका सादात गत डिसेम्बरमा असल भविष्यको खोजीमा मन्त्री पद त्यागेर जर्मनी पुगेका थिए ।

जर्मनीको दक्षिणी सहर लेइपजिगमा हाल उनी ‘डेलिभरी म्यान’का रूपमा कार्यरत छन् । दुई वर्ष मन्त्री भएर काम गरिसकेपछि पनि ‘सानो’ काममा लागेको भनी स्वदेशमा उनको आलोचना हुँदै आएको उनी बताउँछन् । तर, उनका लागि ‘काम भनेको काम हो’। ‘मैले ग्लानी हुने त्यस्तो केही पनि गरेको छैन,’ सुन्तला रंगको पोसाक लगाएर काममा हिँडेका ४९ वर्षीय सादात भन्छन् ।

राष्ट्रपति गनीको समूहसँग विमति भएपछि मन्त्री पदबाट राजीनामा दिएको उनी बताउँछन् । ‘लुक्नुभन्दा सर्वसाधारणका लागि काम गर्नु गौरवको कुरा हो । सबै राजनीतिज्ञहरूले यो कुरालाई आत्मसात गर्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने ।तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि उनका परिवार र इष्टमित्र पनि देश छोड्ने तरखरमा छन् । अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलाउने निर्णय गरेसँगै अफगानिस्तान छोडेर जर्मनीमा शरण लिनेहरूको संख्या बढ्दो छ । १३० प्रतिशतले त्यस्तो संख्या वृद्धि भएको जर्मनीका सरकारी निकायको तथ्याङ्कले देखाउँछ ।

बेलायतको पनि नागरिकता भएका सादात बेलायत जान सक्थे, तर बेलायत युरोपेली युनियनबाट बाहिरिने निर्णय कार्यान्वयन हुनु केही समयअगावै उनी जर्मनी पुगेका थिए । टेलिकम र सूचना प्रविधिमा अब्बल भएको र उज्ज्वल आर्थिक अवस्था भएको कारण आफूले जर्मनी रोजेको उनी बताउँछन् ।

टेलिकम र सूचना प्रविधि अध्ययन गरेका सदात त्यसै क्षेत्रको कामको खोजीमा थिए । तर, जर्मन भाषा नजानेकाले उनी त्यता जान सकेनन् । ‘भाषा महत्वपूर्ण छ,’ उनी भन्छन् । खाद्य व्यवसाय गर्दै आएको लिफरेन्डो कम्पनीका लागि बेलुकी ६ घण्टा सामान ओसारपसार (डेलिभरी)को काम गर्नुभन्दा अगाडि उनी चार घण्टा जर्मन भाषा सिक्न जान्छन् । –रोयटर्सको सहयोगमा

तपाईको प्रतिक्रिया