आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैँ – अमेरिकी सेनाले अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको जनाएको छ । अधिकारीहरूले काबुल विमानस्थलमा १७० जनाको ज्यान लिने गरी गरिएको हमलाको योजनाकारलाई निशाना बनाइएको जनाएका छन् ।

अमेरिकाले नाङ्घहार प्रान्तमा गरिएको सो हमलामा एउटा ड्रोनको प्रयोग गरिएको र त्यसले इस्लामीक स्टेटका सदस्यलाई मारेको उल्लेख गरेको छ । काबुलमा रहेका अमेरिकी अधिकारीहरूले थप आक्रमणहरूलाई ध्यान दिँदै विमानस्थलको प्रमुख क्षेत्रहरूभन्दा परै बस्न नयाँ चेतावनी जारी गरेका छन् ।

वरिष्ठ तालिबान अधिकारीहरूले उनीहरूले काबुल विमानस्थलको मुख्य भाग नियन्त्रणमा लिएको र अमेरिकीहरू जाने बित्तिकै सम्पूर्ण विमानस्थल कब्जामा लिने बताएका छन् । अमेरिकाले अन्तिम समयसम्म अफगानहरूको उद्धार जारी राख्ने र विमानस्थल अझै पनि आफ्ना फौजको नियन्त्रणमा रहेको बताइरहेको छ ।

अमेरिकाले ‘प्रारम्भिक सङ्केतहरूले’ इस्लामीक स्टेटका सदस्य मारिएको र कुनै पनि गैरसैनिक हताहत नभएको बताएको छ । शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीवारको आत्मघाती आक्रमणमा संलग्न जिहादीलाई अमेरिकाले नछाड्ने बताएका थिए ।

इस्लामीक स्टेट खोरसान अर्थात आइएस-के भन्ने समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको थियो । इस्लामीक स्टेट समूहको एउटा तल्लो सङ्गठनका रूपमा रहेको उक्त समूह अफगानिस्तानको सबैभन्दा उग्र र हिंसात्मक जिहादी लडाकु समूह हो ।

सो समूहले काबुल विमानस्थल बाहिर रहेको महिला, पुरुष र बालबालिकाको भिडमा आत्मघाती विस्फोटन गराएको थियो । देश छाड्ने प्रयासमा रहेका दर्जनौँ अफगान नागरिक मारिएका थिए । अमेरिकी फौजबाहेक दुई ब्रिटिस नागरिक र ब्रिटिस नागरिकका एक सन्तान पनि आक्रमणमा मारिएका थिए ।

देश छाड्न आतुर अफगान नागरिकको बर्हिगर्मन प्रक्रियामा सघाउन अझै पनि करिब ५,००० अमेरिकी फौज काबुल विमानस्थलमा खटिएका छन् । बिहीवारको हमलापछि यो अफगानिस्तानमा गरिएको पहिलो ड्रोन हमला भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया