शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं -आफगानिस्तानस्थित काबुल विमानस्थलतर्फ जाँदै गरेका एक जर्मन नागरिकमाथि गोली प्रहार भएको छ । जसकारण काबुलमा अहिले पनि विमानस्थलतिर खतरा बढेको बताइन्छ ।

जर्मन सरकारका प्रवक्ताले यसबारे जानकारी दिँदै आफ्ना नागरिकलाई छिट्टै त्यहाँबाट बाहिर निकाल्ने बताएको बीबीसीले उल्लेख गरेको छ । उनका अनुसार गोली लागेका व्यक्तिको यतिबेला उपचार भइरहेको छ । यो घटनाले फेरि पनि अफगानिस्तानको विमानस्थल आसपासको स्थिति खतरापूर्ण भएको संकेत दिएको छ ।

विमानस्थलबाट अहिले मानिसहरू कुनै पनि हालतमा देश छोडेर निस्किन चाहन्छन् । जर्मन समाचार एजेन्सी डीपीएका अनुसार जर्मन दूतावासले एयरपोर्ट जाने व्यक्तिको लागि विमानस्थलको प्रवेशद्वारमा हमला हुन सक्ने भन्दै चेतावनी जारी गरेको छ ।

जारी चेतावनीमा लेखिएको छ, ‘यस समय विमानस्थल खुला छ, तर प्रवेशद्वारमा कुनै पनि समय ब्लक हुन सक्छ । किनभने धेरै परिवारहरू देश छोड्न खोजिरहेका छन् ।’ जर्मन सेना अफगानिस्तानबाट उद्धार कार्यमा सहयोग गर्न हेलिकप्टर पठाउने विचार गरिरहेको बताएको छ ।

काबुलमा तालिबानले गत आइतबार सत्ता कब्जा गरेको दिनदेखि काबुल विमानस्थलमा निकै भीड जम्मा भएको थियो । सोमबार त्यहाँ स्थिति सम्हाल्नका लागि गोली नै चलाउनुपर्ने स्थिति आयो । जसकारण केहीको मृत्यु पनि भयो । विमानस्थलको नियन्त्रण आफ्नो हातमा लिने अमेरिकी सेनाले मृतकको संख्याबारे अहिलेसम्म केही पनि भनेका छैनन् । तर, तालिबानले आइतबार विमानस्थलमा १२ जनाको मृत्यु भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया