शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – अफगानिस्तानका कयौं शहरमा तालिबानविरुद्ध प्रदर्शन शुरु भएको छ । बुधबार अफगानिस्तानको जलालाबाद र खोस्त शहरमा मानिसहरुले झण्डासहित प्रदर्शन गरेका थिए । अफगानिस्तानका कयौं शहरमा आज पनि सर्वसाधारणले प्रदर्शन गरेका छन् । प्रदर्शन भएका शहरहरुमा राजधानी काबुल र पूर्वी शहर जलालाबाद पनि छन् ।

अफगानिस्तानलाई नियन्त्रणमा लिएको तालिबानले असदबादमा गोली चलाएको छ । स्वतन्त्रता दिवसको अवसरमा कुनार प्रान्तको राजधानी असदबादमा तालिबानको विरोधमा राष्ट्रिय झण्डा फहराइरहेकामाथि तालिबानी लडाकुहरूले गोली चलाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

‘सयौं मान्छेहरू सडकमा आएका थिए । शुरुमा मलाई डर लागिरहेको थियो । तर, मेरो एक जना छिमेकी पनि त्यसमा सहभागी भएको देखेपछि म पनि झण्डा बोकेर उनीहरूसँग गएँ’, प्रत्यक्षदर्शी सलिम मोहम्मदलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । सलिमका अनुसार तालिबानले चलाएको गोली लागेर केहिको ज्यान गएको रोयटर्सले जनाएको छ । तर यो पुष्टि भइसकेको छैन । देशका विभिन्न भागमा प्रदर्शन भइरहेको पनि समाचारमा उल्लेख छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोमा काबुलमा पनि प्रदर्शन भएको देख्न सकिन्छ । त्यहाँ कयौंको संख्यामा सडकमा निस्किएका मानिसहरुले राष्ट्रिय झण्डासहित प्रदर्शन गरेका छन् ।

यो प्रदर्शनमा महिला पनि सहभागी भएका छन् । भिडियोमा एक महिलाले आफ्नो काँधमा झण्डा बोकेको देख्न सकिन्छ । केही मानिस नारा लगाइरहेका छन्, ‘अल्लाह–ओ–अकबर ।’ तर सत्ता कब्जा गरेको तालिबानले अहिलेसम्म यसबारे केही बोलेको छैन । उता कुनार प्रान्तको राजधानी असदाबादमा निस्केको एक जुलुसमा गोली चल्दा कयौं मानिस मारिएको समाचार आएको छ ।

तर यस घटनाको अझै स्वतन्त्र पुष्टि भइसकेको छैन । बुधबार पनि असदाबादको अलावा जलालाबाद र खोस्त शहरमा मानिसहरुले अफगान झण्डासहित प्रदर्शन गरेका छन् । जलालाबादमा तालिबानको गोलीबारीमा कम्तीमा ३ प्रदर्शनकारीले ज्यान गुमाएका छन् ।

अफगानिस्तानका प्रथम उपराष्ट्रपति अमरुल्लाह सालेहले यी प्रदर्शनकारीको समर्थनमा ट्वीट पनि गरेका छन् । ‘हाम्रो झणडा उठाउनेलाई सलाम, उनीहरु देशको इज्जतका लागि उभिएका छन् ।’ उनले देशमा तालिबानको विरोधमा मानिसहरुलाई एकजुट गर्ने कोशिस पनि गरिरहेका छन् । उनले राष्ट्रपति असरफ गानीको अनुपस्थितिमा आफूलाई देशको कार्यवाहक राष्ट्रपति घोषित गरेका थिए । एजेन्सी

तपाईको प्रतिक्रिया