आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – भित्तामा लागेका रगतका छिटामा दृष्टि पर्नेबित्तिकै बशीर अहमद भटलाई भारत-प्रशासित कश्मीरमा प्रहरी सेवामा कार्यत आफ्ना भाइ मारिएको रातको याद आउँछ । गत जुन महिनाको कुरा हो । सुत्ने तरखरमा रहेका बशीरले आफ्नो भाइको घरमा गोली चलेको आवाज सुने ।

उनी हतारहतार उठेर गोली चलेको स्थानतर्फ दौडिए । त्यहाँ हृदयविदारक दृश्य थियो । उनका भाइ घरको मूलढोकामै मृत थिए। बुहारी र भाइकी छोरी नजिकै रगतपच्छे अवस्थामा छटपटाइरहेका थिए । पछि उनीहरूले पनि प्राण त्यागे । ‘ढकमक्क फूल फुलेको मेरो बगैँचालाई ती गोलीले एकै मिनेटमा सखाप बनाइदिए,’ बशीर भन्छन्, ‘उनीहरूको गल्ती के थियो? केही पनि थिएन ।’

प्रहरीका अनुसार सशस्त्र लडाकुहरूले बशीरको भाइ, बुहारी र भतिजीको हत्या गरेका हुन् । कश्मीर उपत्यकामा बशीरका भाइ फैयाज अहमद भट्‌जस्ता प्रहरी अधिकृतहरूलाई प्राय: तारो बनाउने गरिन्छ । कश्मीरमा लामो समयदेखि स्थानीय सुरक्षा फौज र सशस्त्र विद्रोहीबीच सङ्घर्ष हुँदै आएको छ । ‘यी मानिसहरूलाई अर्को पक्षले प्रहरीको सुराकी वा सहयोगीका रूपमा हेर्छ,’ दिल्लीमा रहेको एउटा थिङ्कट्याङ्क इन्स्टिट्यूट फर कन्फ्लिक्ट म्यानेज्मन्टका कार्यकारी निर्देशक अजय सहनी भन्छन् ।

उनीहरू सधैँ खतरामा हुन्छन् र पहिलो निसानामा पर्छन् । भारतले सन् २०१९ को अगस्ट ५ मा जम्मू तथा कश्मीरले पाउँदै आएको स्वायत्तता अन्त्य गर्दै संविधानको धारा ३७० खारेज गरिदिएको थियो । त्यस बेला प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भाजपाद्वारा नेतृत्व गरिएको सरकारले उक्त कदमपछि जम्मू तथा कश्मीर क्षेत्रमा स्थिरता र आर्थिक विकास हुने दाबी गरेको थियो । तर दुई वर्ष भइसक्दा पनि कश्मीर उपत्यकामा तनाव उस्तै छ ।

अधिकारीहरूका भनाइमा अहिले त्यहाँ अझ धेरै युवाहरू हिंसात्मक विद्रोहतर्फ झुकाव राख्न थालेका छन् । कश्मीरमा भारतीय शासनविरुद्ध सन् १९८९ देखि हिंसात्मक विद्रोह जारी छ । विज्ञहरू भन्छन्, अचेल त्यस्तो विद्रोह आन्तरिक रूपमै विकास भइरहेको छ र त्यो भूराजनीतिक रूपमा संवेदनशील क्षेत्रका लागि चिन्ताजनक विषय हो । दशकौँको द्वन्द्व र तनावका कारण कश्मीरमा निकै क्षति पुगेको छ । –बीबीसी 

तपाईको प्रतिक्रिया