आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – पानामाको झण्डा भएको एउटा पानीजहाजलाई सशस्त्र व्यक्तिहरूले ओमानको खाडीबाट अपहरण गरेर इरानतिर जान आदेश दिएको घटना टुङ्गिएको अधिकारीहरूले बताएका छन् ।

सशस्त्र व्यक्तिहरू अहिले उक्त पानीजहाजबाट छोडेर अन्यत्र गइसकेका र त्यहाँ भएका अरू सबै मानिस सुरक्षित भएको बताइएको छ । यूकेको पानीजहाजको सुरक्षा हेर्ने निकायले उक्त सम्भावित अपहरणको घटना अब टुङ्गिएको जनाएको छ । तर उसले त्यसबारे विस्तृत जानकारी दिएको छैन ।

अलकत्रा बोकेको एमभी आस्फल्ट प्रिन्सेस नामक उक्त पानीजहाज मङ्गलवार एउटा भिडभाडयुक्त साँघुरो मार्गबाट स्ट्रेट अफ होर्मुजतिर गएको लोयड्स लिस्ट म्यारिटाइम इन्टेलिजेन्सले जनाएको थियो । पानीजहाजलाई कसले कब्जामा लिएको थियो भन्ने अझै स्पष्ट नभए पनि विश्लेषकहरूले इरानी फौजमाथि औँला ठड्याएका छन् ।

इरानको रेभुलूशनरी गार्ड्सले आफ्नो संलग्नताबारे प्रकाशित समाचार खण्डन गर्दै त्यो तेहरानविरुद्ध “शत्रुतापूर्ण व्यवहारको” बहाना भएको जनाएको छ ।

घटनाका शृङ्खला कस्तो ?
इजरेली स्वामित्वको एउटा कम्पनीको तेल ट्याङ्करलाई ओमानमाथि ड्रोनबाट आक्रमण गरेर दुई सुरक्षागार्डलाई मारिएको एक साताभन्दा कम समयमै यो घटना सार्वजनिक भएको हो ।

पहिलो घटनामा ज्यान गुमाउनेमा ब्रिटेन र रोमेनियाका नागरिक थिए । अमेरिका, यूके र इजरेलले उक्त हमलाका लागि इरानलाई दोष दिए पनि तेहरानले त्यसलाई ठाडै अस्वीकार गरेको छ । त्यस क्षेत्रबाट समुद्री मार्गबाट हुने विश्वको पाँच भागको एक भाग तेल आपूर्ति हुन्छ ।

तपाईको प्रतिक्रिया