आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – जर्मनीमा सेवानिवृत्त एक वृद्धलाई अवैध हातहतियार राखेको अभियोगमा दोषी ठहर गरिएको छ । उनको स्वामित्वमा एउटा ट्याङ्कसहित हतियारको ठूलो भण्डार फेला परेको थियो ।

ती ८४ वर्षीय व्यक्तिलाई १४ महिनाको जेल सजाय र अढाई लाख युरो अर्थात् झन्डै तीन करोड ५३ लाख रुपैयाँ जरिवाना सुनाइएको छ । तर उनले तत्काल जेल जानुपर्ने छैन । गोपनीयतासम्बन्धी जर्मन कानुनअनुसार उनको नाम सार्वजनिक गर्न मिल्दैन ।

उक्त ट्याङ्क र दोस्रो विश्वयुद्धताका प्रयोग गरिएका अन्य सैन्य उपकरण उत्तरी सहर हाइकेन्डोर्फमा सन् २०१५ मा बरामद भएका थिए । ती सामग्री हटाउन सेनाको सहयोग लिइएको थियो ।

आदेशमा अरू के छ ?
जर्मनीको एउटा अदालतले सोमवार ती व्यक्तिलाई उक्त ट्याङ्क र एउटा विमानभेदक तोप दुई वर्षभित्र बेच्न वा कुनै सङ्ग्रहालय वा सङ्कलकलाई दिन आदेश दिएको छ ।

ती व्यक्तिका वकिलका अनुसार एउटा अमेरिकी सङ्ग्रहालयले उक्त प्यान्थर ट्याङ्क किन्न रुचि देखाएको छ । धेरै अमेरिकी इतिहासकारले जर्मनीले दोस्रो विश्वयुद्धमा प्रयोग गरेका त्यस्ता साधनमध्ये उक्त ट्याङ्क सबैभन्दा प्रभावकारी भएको मान्यता राखेका छन् ।

ती वकिललाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार केही जर्मन सङ्कलकले पनि राइफल र पिस्तोलजस्ता अन्य सामग्री लिन सम्पर्क गरेका छन् । स्थानीय अधिकारीहरूले बर्लिनस्थित सहकर्मीबाट प्राप्त सूचनाका आधारमा सन् २०१५ मा ती वृद्धको घरमा छापा मारेका थिए ।

चोरिएका नाजी कलाकृति खोज्न पहिला पनि उनको घरमा खानतलासी गरिएको थियो । त्यहाँबाट ट्र्याकबिनाको प्यान्थर ट्याङ्क निकाल्न २० सैनिकलाई झन्डै नौ घण्टा लागेको थियो । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ती व्यक्तिले एकचोटि हिउँ हटाउन उक्त ट्याङ्क प्रयोग गरेको देखिएको थियो ।

तपाईको प्रतिक्रिया