आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – चीनमा एउटा सरकारी सञ्चारमाध्यमले अनलाइन गेमलाई विद्युतीय लागुपदार्थको सङ्ज्ञा दिएपछि देशका दुई ठूला अनलाइन गेमिङ कम्पनीको शेअर घटेको छ ।

हङ्‌कङको शेअर बजारमा भएको कारोबारमा टेन्सेन्ट र नेटईजका शेअरको मूल्य १०% भन्दा बढीले घटेको थियो । तर पछि तिनको मूल्यमा केही सुधार आयो । बेइजिङले प्रविधि कम्पनीहरूमाथि कारबाही गर्ने गरेको हुँदा धेरै लगानीकर्तामा चिन्ता बढेको पाइन्छ ।

केही महिनादेखि चीन सरकारले प्रविधि तथा निजी शैक्षिक उद्योगलाई कडिकडाउ गर्न विभिन्न उपायहरू घोषणा गरेको छ । राज्यद्वारा प्रकाशित इकोनमिक इन्फर्मेशन डेलीमा आएको एउटा सामग्रीमा किशोरकिशोरी अनलाइन गेमको दुर्व्यसनी बनेका र त्यसबाट उनीहरूमा नराम्रो प्रभाव परेको उल्लेख छ । उक्त पत्रिका सिन्ह्वा समाचारसंस्थासँग सम्बद्ध छ ।

आलेखमा के छ ?
टेन्सेन्टको लोकप्रिय गेम “अनर अफ किङ्स” लाई इङ्गित गर्दै उक्त आलेखमा विद्यार्थीहरूले दैनिक आठ घण्टा उक्त गेम खेल्ने गरेको उल्लेख गरेको छ। त्यसमा अनलाइन गेम उद्योगमाथि नियन्त्रण गर्नुपर्ने आग्रह गरिएको छ ।

“एउटा पुस्तालाई विनाश गर्ने किसिमको कुनै उद्योग वा खेललाई अनुमति दिनु हुँदैन,” उक्त आलेखले अनलाइन गेमलाई “आध्यात्मिक अफिम” को सङ्ज्ञा दिँदै भनेको छ । टेन्सेन्टसँग सम्पर्क गरेको थियो। तर उसले तत्काल कुनै प्रतिक्रिया दिएन ।

सङ्गीतको अनुमतिसम्बन्धी एउटा विषयमा सरकारले दिएको एउटा आदेशपछि उक्त कम्पनीको शेअर गत साता पनि खस्किएको थियो । चीनमा अनलाइन सङ्गीत स्ट्रीमिङमा उक्त कम्पनीको प्रभुत्वलाई नियन्त्रण गर्ने उद्देश्यसहित टेन्सेन्टलाई विश्वभरि रहेका रेकर्ड कम्पनीसँग गरिएका सङ्गीत लाइसेन्सिङका सबै विशेष सम्झौता अन्त्य गर्न भनिएको थियो ।

चीनमा अहिले टेन्सेन्टसँग सङ्गीत स्ट्रीमिङ गर्ने विशेष अधिकारमध्ये ८०% छ । चीन सरकारले प्रविधि तथा निजी शैक्षिक उद्योगलाई कडिकडाउ गर्न थालेपछि उक्त कम्पनीको शेअर अमेरिका, हङ्‌कङ र चीनका बजारमा यो वर्ष ह्वात्तै घटेको छ ।

तपाईको प्रतिक्रिया