काठमाडाैं – नेपाल र भारतबीच रेल सेवा सम्झौताको संशोधनमा हस्ताक्षर भएको छ । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र भारतका भारतीय रेलवे बोर्डका एडिस्नल मेम्बर सुशान्तकुमार मिश्रले संसोधन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
संशोधनमा नेपालले तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय निजी रेल सेवा उपयोग गर्ने मुख्य विषय समेटिएको छ । यसअघि यो सम्झौतामा नेपालमा भारतीय रेलको प्रवेश विन्दु वीरगन्ज थियो । अब रेल सेवाको पूर्वाधार भएको सिमावर्ती शहरमा पनि आयात निर्यात व्यापारमा सहज हुनसक्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए।
संसोधन भएको सम्झौतामा भारतीय रेल सेवा सञ्चालनमा ल्याउन अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनर/वागनहरु नेपाल लक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिने भएको छ । त्यसैगरी निजी सेवा प्रदायकले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपाल लक्षित ढुवानी गर्न, गराउन सकिने व्यवस्था गरिएको प्रवक्ता रेग्मीको भनाइ छ ।
त्यस्तै नेपाल लक्षित परिवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगञ्ज र विराटनगरदेखि कोलकाता/हल्दियासम्म रेलसेवा दिन सक्नेगरी सम्झौता संशोधन भएको छ ।
हाल वीरगञ्जसम्म रेल सञ्चालन भएकोमा विराटनगर, भैरहवा र नेपालगन्ज, दोधारा,चाँदनी लगायतका स्थानमा रेल सेवाको पूर्वाधार तयार भएपछि सेवा उपलब्ध हुने सम्झौता भएको छ । नेपाल-भारत पारवहन सन्धीमा व्यवस्था भएअनुसार अन्य पारवहन बिन्दुमा तथा द्विपक्षीय व्यापार नाकाहरूको सहमतिका आधारमा रेल सञ्चालन हुँदै जाने सम्झौता पनि गरिएको छ ।