काठमाडौं – मुलुक भित्रने रेमिट्यान्स गत वर्षको तुलनामा १ खर्ब ३० अर्ब रुपैयाँले वृद्धि भएको छ । चालू आर्थिक वर्षको १० महिनामा गत वर्षको यही अवधिको तुलनामा १९ दशमलव २० प्रतिशतले बढी रेमिट्यान्स भित्रिएको हो । यो अवधिमा ८ खर्ब ९ अर्ब रुपैयाँबराबर रकम भित्रिएको हो ।
गत वर्ष मासिक ७२ अर्ब रेमिट्यान्स भित्रिएको भए पनि यो वर्ष बढेर ८१ अर्ब भित्रिरहेको छ । यद्यपि, चैतमा करिब ८७ अर्ब रेमिट्यान्स भित्रिएकोमा वैशाखमा भने करिब ८१ अर्ब मात्रै भित्रिएको हो । गत वर्षको १० महिनाको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ४९.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.६ प्रतिशतले घटेको थियो ।
विदेशी मुद्राका सञ्चिति मासिक आधारमा घटेको छ । चैतमा १४ खर्ब ३३ अर्ब रुपैयाँबराबर सञ्चिति रहेकोमा वैशाखमा घटेर १३ खर्ब ९० अर्ब रुपैयाँमा सीमित भएको छ । १० महिना ३ दिनका लागि मुलुकमा हुने वस्तु तथा सेवाको भुक्तानी दिन यस्तो सञ्चिति पर्याप्त रहेको छ ।
गत आवभरि भएको भन्दा यो १० महिनामा आयात ५७ अर्बले बढेपछि विदेशी मुद्रा सञ्चितिमा प्रभाव देखिएको हो । गत आवमा कुल ११ खर्ब ९६ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो । यो आवको वैशाखसम्म १२ खर्ब ५४ अर्ब रुपैयाँबराबरको आयात भएको छ ।
आयातमा वृद्धि हुन थालेसँगै मुलुकको शोधनान्तर (मुलुक भित्रने र बाहिरिने पुँजी) बचतमा दबाब पर्न थालेको छ । चैतमा ४२ अर्बबराबर शोधनान्तर बचत रहेकोमा वैशाखमा यो रकम घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको हो । एकै महिनामा आयातसमेत १ खर्ब ६७ अर्ब रुपैयाँले बढेको छ ।
आयातमा खाद्यान्न, औद्योगिक उत्पादनमा आवश्यक वस्तु र पुँजीगत वस्तुको हिस्सा उच्च रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । सवारीसाधन, इन्धन आयात खर्चलगायतको हिस्सा घटेको छ । वैदेशिक भ्रमण, शिक्षालगायतमा खर्च वृद्धि हुन थालेकाले पनि मुलुकबाट रकम बाहिरिने दरमा वृद्धि भएको छ ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार वैशाखमा मूल्यवृद्धि दर भने उकालो लागेको छ । चैतमा वार्षिक आधारमा मूल्यवृद्धि दर ३ दशमलव १० प्रतिशत रहेकोमा वैशाखमा ३ दशमलव ६५ प्रतिशत भएको हो । खाद्य तथा पेय पद्धार्थलगायतमा उच्च मूल्यवृद्धि भएको छ । पहाडका मानिसहरूले सबैभन्दा धेरै मूल्यवृद्धिको सामना गर्नुपरेको छ । तराई, पहाड र हिमालमा मूल्यवृद्धिदर क्रमशः ३ दशमलव ५१, ४ दशमलव १४ र १ दशमलव ३३ प्रतिशत छ ।