काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का नयाँ संक्रमितको संख्या ७० हजारमा झरेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार कोरोनाका दैनिक नयाँ संक्रमितको यो संख्या गत मार्च ३१ यताकै सबैभन्दा कम हो ।
भारतमा आइतबार १४ लाख ९२ हजार १५२ नमुना परीक्षण गरिएको थियो । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ९५ लाख १० हजार नाघेको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट ३ हजार ९२१ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु भएका २८४, गत साता मृत्यु भएका १९९ र बाँकी २ हजार २८८ सोभन्दा अगाडि नै मृत्यु भएकाको संख्यामा थप गरिएको हो ।
यससँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ७४ हजार ३०५ पुगेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १० लाखभन्दा कममा झरेको छ ।