काठमाण्डाै – स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकिएको छ। खेलको पहिलो हाफमा दुई गोलले पछि परेको घरेलु टोली लेभान्टेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेपछी बार्सिलोना ३-३ को बराबरीमा रोकिएको हो।
खेलको २५ औं मिनेटमा लियोनल मेस्सीको गोलमा अग्रता बनाएको बार्सिलोनाले पेड्रीको ३४ औं मिनेटको गोलमा पहिलो हाफ सकिँदा दुई गोलले अगाडि रहेको थियो। दोस्रो हाफमा लेभान्टेका गोञ्जालो मेलेरोले खाता खोले। उनले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए। त्यसको दुई मिनेट नबित्दै जोस लुइस मोलारेसले गोल गर्दै खेल बराबरीमा ल्याए। अर्कोतर्फ बार्सिलोनाका लागि ओस्माने डेम्बेलेले गोल फर्काउँदै खेल बार्सिलोनालाई फेरि अग्रता दिलाए। तर यसपटक पनि पुनरागमन गर्न घरेलु टोली सफल रह्यो। खेलको ८३ औं मिनेटमा सर्जिओ लिओनले गोल फर्काउँदा खेल ३-३ को बराबरीमा रोकिएको हो।
लेभान्टेसँग बराबरीमा रोकिएसँगै बार्सिलोनाको उपाधि होड कठिन बन्दै गएको छ। शीर्ष स्थानको एट्लेटीको मड्रिडले ३५ खेलबाट ७७ अंक जोडेको छ भने दोस्रो स्थानको बार्सिलोनाले ३६ खेलबाट ७६ अंक जोडेको छ। त्यस्तै तेस्रो स्थानमा रहेको रियल मड्रिडले ३५ खेलबाट ७५ अंक जोडेको छ। उता लेभान्टे ३६ खेलबाट ४० अंक जोड्दै तालिकाको १३ औं स्थानमा उक्लिएको छ।