काठमाण्डाै – इन्डियन्स प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार साँझ मुम्बईमा सम्पन्न खेलमा महेन्द्रसिंह धोनीको टिम चेन्नाई सुपर किङ्सले पञ्जाब किङ्सलाई छ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निकै कमजोर र फितलो खेल प्रदर्शन गरेको थियो । एकपछि अर्का धुरन्धर ब्याट्सम्यान आउट भएपछि संघर्ष गर्नु परेको पञ्जाबका लागि शाहरुख खानले ४७ रन बनाएपछि टिमले कूल स्कोर १०६ खडा गर्न सकेको थियो ।
पञ्जाबका कप्तान केएल राहुल ५, मयंक अग्रवाल ०, क्रिस गेल १०, दीपक हूडा १०, निकोलास पूरन ०, रिचार्डसन १५, मुरुगन अश्विन ६, मोहम्मद शामी ९ र राइले मेरेडिथले ० रन बनाएका थिए ।
चेन्नाईका लागि दीपक चहरले ४ विकेट लिएका थिए ।
टिमको स्कोर २६ हुँदा पाँच विकेट गुमाएको पञ्जाबले ५७ मा छ र ८७ मा ७ विकेट गुमाएर निरिह अवस्थामा थियो । चेन्नाईका लागि रविन्द्र जडाजले उत्कृष्ट फिल्डिङ गरेर कप्तान केएल राहुललाई रनआउट गर्नुका साथै क्रिस गेलको विकेट समातेका थिए ।
१०७ रनको झिनो लक्ष्य पछ्याएको चेन्नाईले तीन विकेट गुमाएर २६ बल बाँकी छँदै लक्ष्य पूरा गरेको थियो । चेन्नाईका लागि रुतुराज गैकवाडले ५, मोइन अलिले ४६, अम्बाटी रायडू ०, सुरेश रैनाले ८ रन बनाएका थिए । फाफ डु प्लेसीले अविजित ३६ तथा साम कुरानले ५ रन बनाएका थिए ।
यो जितसँगै चेन्नाईले २ खेलबाट २ अंक जोड्न सफल भएको छ ।