बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाण्डाै – बेलायतमा महामारी शुरु भएयता कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार नाघेको छ ।  पछिल्लो २४ घन्टामा  कोरोना  संक्रमणका कारण  थप १०१ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शुक्रबार जानकारी दिएको छ ।  यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार २६ पुगेको छ । आज सार्वजनिक तथ्याँक विगतका केहि शुक्रबारको तुलनामा निकै कम रहेको अधिकारीहरुले बताएका छन् ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ४ हजार ८०२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा  कुल संक्रमितको संख्या ४२ लाख ८५ हजार ६८४ पुगेको छ ।  बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि निरन्तर रुपमा कमी आएको छ ।  हाल अस्पतालमा उपचारार्थ  कोरोना संक्रमितको संख्या ६ हजार ५४४ मा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ८७९ रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ४९४ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।
बेलायतमा हालसम्म दुई करोड ८२ लाख बढी डोज कोरोना विरुद्धको खोप वितरण भइसकेको छ । बिहीबारसम्मको तथ्याँक अनुसार कोरोना विरुद्धको  खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ८२  लाख ७४ हजार ८०२ पुगेको छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ६२ लाख ६३ हजार ७३२ जनाले खोपको पहिलो डोज लिएका छन् भने २० लाख ११  हजार ७०  जनाले खोपको दोस्रो डोज लिएका छन् । रगत जम्ने सम्भावित आशंकालाई लिएर विभिन्न मुलुकले अस्ट्राजेनिका खोपमाथि लगाएको प्रतिबन्ध हटेसँगै उक्त खोप लगाउन शुरु गरिएको छ । फ्रान्स तथा जर्मनले शुक्रबारबाटै खोप लगाउन शुरु गरिसकेका छन् ।

यूके तथा युरोपेली नियामक निकायले बिहीबार अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरु समक्ष आग्रह गरेसँगै खोपमाथिको  आशंका हटेको हो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शुक्रबार आफूले एस्ट्राजेनिकाकै खोपलाई रोजेको बताउँदै सबैले निर्धक्कसँग उक्त खोप लगाउन आग्रह गरेका छन् अक्सफोर्ड एस्ट्राजेनिका खोपको ’साइड इफेक्ट’ का कारण ‘ब्लड क्लट्स’ अर्थात रगत जम्ने रोग सम्बन्धि कुनै आधार नभेटिएको तथ्य सार्वजनिक भएसँगै यस खोपले पुनः निरन्तरता पाएको हो।

तपाईको प्रतिक्रिया