काठमाडौं – म्याग्दीको सदरमुकाम बेनी अस्पताललको दक्षिणी कुनामा छ शव घर । जिल्ला अस्पतालकी कार्यालय सहयोगी लक्ष्मी किसान आम महिलाको भन्दा फरक काम गर्छिन्, जुन गर्ने आँट र संयोग जो कसैलाई हुँदैन् ।
जिल्लाभरिमा आत्महत्या वा अप्राकृतिक कारणले मृत्यु भएकाको अन्तिम संस्कार हुनुअघि अस्पताल आएका शव लक्ष्मीकोमा पुग्छन् । पोस्टमार्टमका लागि अस्पताल आएका शवलाई पहिले उनी निर्वस्त्र बनाउँछिन् ।
डाक्टरको निर्देशनअनुसार चिरफार गर्छिन् । अंगहरु झिक्छिन् । अनि पुनः त्यसलाई शरिरभित्र राखेर सिलाउँछिन् । डाक्टरले नियालेर उनको सबै काम हेर्दै पोस्टमार्टम रिपोर्ट तयार पार्छन् ।
रिपोर्ट र चिरिएको शव दुवै बोकेर आफन्तहरु सद्गद तिर लम्किन्छन् । लक्ष्मीको दैनिकि यसरी नै बित्न थालेको १५ वर्ष भयो । यसबीचमा उनले दुई बजारभन्दा बढी शव चिरिसकेकी छिन् ।
देख्दा साधारण लक्ष्मीको जब मानिस यस्तो असाधारण अनुभव सुन्छन् तब अचम्म मानेर उनलाई हेर्छन् । लक्ष्मीको अनुभवले भन्छ, पोस्टमार्टम गर्न मानिसले ठानेजस्तो सजिलो छैन । कहिलेकाहीं सडेगलेका र अति दुर्गन्धित शव पनि हुन्छन् । ‘त्यस्तो शवलाई छुन्न भन्न मिल्दैन, चिरफार गर्नै पर्यो,’ भन्छिन्, ‘यस्तो बेला सहने शक्ति चाहिन्छ ।’
वर्षौंदेखि गर्दै आए पनि लक्ष्मीलाई आफ्नो काम अझै सामान्य लाग्न सकेको छैन । पोस्टमार्टम गर्ने प्रमुख भूमिका फरेन्सिक विशेषज्ञ चिकित्सकको हो । तर पोस्टमार्टम गर्दा डाक्टर एक्लै हुँदैनन् । सहयोगीले डाक्टरको निर्देशनमा शव चिरफार गर्छन् ।
मृत शरीरको शिरदेखि पैतालासम्म चिरफार गर्दै सबै अंग परीक्षण गरेर पोस्टमार्टम रिपोर्ट बनाइन्छ । शरीरभित्रको आवश्यक अंगको टुक्रा नमुना झिकेर प्याथोलोजी जाँच गरिन्छ । सोहीअनुसार चिकित्सकले पोस्टमार्टम रिपोर्ट तयार गर्छन् ।
२०५७ देखि २०६२ सम्म लक्ष्मीका श्रीमान् पोस्टमार्टम गर्ने काममा संलग्न थिए । श्रीमान्ले त्यो काम छाडेपछि लक्ष्मीले जिम्मेवारी सम्हालेकी हुन् ।
‘सुरु–सुरुमा डरले हात काप्थे । गाह्रो भएको थियो । डाक्टरले सम्झाए, अप्रेसन गर्ने ठाउँमा लगेर चिरेको देखाएपछि बिस्तारै सिक्दै गएँ, बानी पर्यो,’ लक्ष्मीले भनिन्, ‘एउटा शवको पोस्टमार्टम गरेको डाक्टरले कति पाउँछन्, थाहा छैन, मैले भने २ सय रुपैयाँमा कर कट्टी गरी पाउँछु ।’
-कान्तिपुर दैनिक