टोकियो – जापानमै छायाङ्कन एवं निर्माण गरिएको लोकदोहोरी गीत ’गिलास र कचौरा’ को म्युजिक भिडियो बजारमा आएको छ । गायक सूर्य खड्का र गायिका आशा बिसीको स्वरमा सजिएको उक्त दोहोरीमा मायाप्रीतिको कथावस्तुलाई केन्द्रीय भावका रुपमा उतारिएको छ भने गीतमा एकअर्काप्रतिको आकर्षाण एवं समर्पण भावलाई गर्भ-रचनाका रुपमा चित्रण गरिएको छ ।
जापानमै रहेका दर्जनौ कलाकारहरुको प्रत्यक्ष सहभागिता एवं संलग्नता रहेको सो म्युजिक भिडियोमा गायक स्वयम खड्का र गायिका एवं मोडल सोना केसीको मुख्य फिचरिङ रहेको छ ।
नेपाली गीत, संगीत, साहित्य र सिर्जनाको उर्वरभूमि मानिने जापानमा एकपछि अर्को गर्दै नयाँ-नयाँ कीर्ति सार्बजनिक भईरहेको सन्दर्भमा ’गिलास र कचौरा’ बिल्कुल भिन्न र फरक शैलीमा प्रस्तुत गरिएको निर्माण टिमको दाबी छ ।
शिव अखेलीको शब्द, स्वयम गायक खड्काको संगीत, बिश्वास नेपालको एरेञ्ज र रविन शर्माको निर्देशनमा तयार पारिएको उक्त म्युजिक भिडियोले देश-बिदेशमा बढ्दो दोहोरीको क्रेजलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।
उक्त म्युजिक भिडियोको काम जापानमै सम्पन्न गरिसकेपछिको नयाँ अनुभव सुनाउँदै गायक खड्काले भने -’अहिलेको यो कोरोना कहरको बीचमा जापानमै भिडियो छायाङ्कन गर्नु हाम्रो लागि निकै चुनौतीपूर्ण काम थियो, ज्यादै दुःख र गाह्रो त भयो नै तर हामीले सबैको साथ र सहयोग पायौं जसले गर्दा जसरी अडियो मीठो बनेर आएको थियो, भिडियो पनि त्यसरी नै राम्रो बन्यो । अरु गीतमा भन्दा यो गीतमा हाम्रो धेरै मिहिनेत परेको छ । गीतले बिस्तारै बजार पाईरहेको छ, यसैमा निकै खुशी लागेको छ ।’
पछिल्लो समय दोहोरीको क्षेत्रमा निकै रुचाईएको नारी-आवाज आशा बिसीले पनि जापानका कलाकारहरुसंग सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गर्दै भनिन् – ’अवसरका लागि धेरै धन्यबाद भन्न चाहान्छु । सदाझैं गिलास र कचौरालाई पनि यहाँहरुको साथ, सपोर्ट र मायाको अपेक्षा गरेका छौं । हेरेर, सुनेर सुझाव, सल्लाह तथा प्रतिक्रिया अवश्य दिनु हुने छ भन्ने बिश्वास छ । ’
यसैगरी जापानमा रहेर गीत र संगीतको क्षेत्रमा निरन्तर साधनारत गायिका एवं मोडल सोना केसीले उक्त ’गिलास र कचौरा’ मा निर्वाह गरेको अभिनय एवं भूमिकाका बारेमा आफ्नो अनुभव सुनाउँदै भनिन् – ’स्वदेशमा मात्रै नभएर विदेशमा समेत लोकदोहोरीको क्रेज बढ्दै गईरहेको सन्दर्भमा हामीले यसलाई जापानमै छायाङ्कन गरेर नयाँ प्रयोग सुरु गरेका छौं । जापानको ब्यस्तता र प्रतिकुल अवस्थाका बाबजुद पनि यस कार्यमा प्राप्त साथ-सहयोग र हौसलाले हामीलाई थप ऊर्जा प्रदान गर्नुका साथै अझ अगाडि बढ्नका लागि जिम्मेवारी थपिएको महशुस भएको छ । हामीलाई आशा एवं विश्वास छ, प्रवासबाट गरिएको हाम्रो प्रयासलाई लोकदोहोरीका पारखीहरुले मन पराईदिनुहुने छ ।’
साहित्यिक परिचय बनाएका तर पछिल्लो समयमा साँगीतिक बिधामा समेत सक्रियता बढाउन थालेका रविन शर्माले ’गिलास र कचौरा’ मा निर्देशकको भूमिका निभाएका छन्, उनले आफ्नो अनुभव सुनाउँदै भने – ’गाउनु बजाउनु र नाच्नुको संयोजन संगीत हो । लोकदोहोरी जब बज्नेगर्छ, तब दिलले एक किसिमको महशुस गर्छ, अब के हुन्छ ? यो कौतुहुलतामा दोहोरीगीत सकिने गर्छ । दोहोरीगीतले सँधै मनलाई मनसंगै बाँधेर राखेको हुन्छ । लोकदोहोरी यो समाजको गीत हो । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ । हामीले परदेशमा बसेर लोकदोहोरी खोजिरहेका छौं । ’गिलास र कचौरा’ दोहोरी त्यसैको उपज हो र यो समयको जादु गर्ने गीत पनि हो । उपलब्ध स्रोत र साधनहरुको उच्चतम प्रयोग गर्दै आगामी दिनमा हामी अझ प्रभावकारी र सुन्दर सिर्जना गर्ने योजनामा छौं ।’ ***
(भिडियो हेर्नका लागि सबैभन्दा माथिको फोटोमा क्लिक गर्नुहोला )