आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानलाई कर्मथलो बनाउँदै आएका गायक बिशाल क्षेत्रीको नयाँ गीत ’पिरको कसौंडी’ हालै सार्बजनिक भएको छ । गायक क्षेत्रीको लय र शब्द रहेको सो गीतमा जापानमै रहेका करीव दर्जन जति कलाकारहरुले आवाज भरेका छन् ।

जसमा स्वयम क्षेत्री सहित सूर्य खड्का, पुरुषोत्तम सिग्देल, सोना केसी, माधव सिग्देल, अमित सापकोटा, अर्जुन सुबेदी, शिवा केसी, केशव शर्मा, रबिन शर्मा, दिलेन्द्र जोशी लगायत रहेका छन् ।

जापानमै छायाङ्कन गरिएको सो गीतको म्युजिक भिडियो गायक क्षेत्रीको युट्युब च्यानलमार्फत हालै सार्बजनिक गरिएको हो ।
गीतमार्फत कलाकारहरुले देशमा विद्यमान राजनैतिक विकृति तथा विसंगतिप्रति खरो कटाक्ष गरेका छन् । सर्बसाधारण नेपाली जनताको जीवनस्तर सँधै उस्तै रहने तर नेताहरु मात्रै सम्पन्नशाली हुँदै जाने गरेको मुलुकको यथार्थतालाई चित्रण गर्दै गीतमार्फत कलाकर्मीहरुले देशद्रोही तथा भ्रष्टाचारी नेताहरुको उछित्तो काढेका छन् ।

नयाँ प्रयोगकारुपमा एउटै गीतमा धेरैजनाले पालैसंग स्वर भरिएको सो गीतमा एकातिर राष्ट्रभाव छचल्किएको पाइन्छ भने अर्कोतिर देशको पछिल्लो अस्तब्यस्त राजनैतिक अवस्था र नेताहरुको कूर्सीमोहका कारण ब्याप्त अन्यौलताप्रति चिन्ता जाहेर गरिएको छ ।
सो म्युजिक भिडियोको गोबिन्द बिष्ट र प्रेम दाहालले छायाङ्कन गरेका हुन् ।

समुद्रपारिसंग छोटो कुरा गर्दै गायक क्षेत्रीले भने -’बिरानो माटोमा बरालिदैं गर्दा देश दुखेको भावलाई गीतमार्फत उजागर गर्ने प्रयासस्वरुप ‘पिरको कसौंडी’ पस्केका छौं, दर्शकस्रोताहरुको सकारात्मक प्रतिक्रियाको अपेक्षा छ ।’ ****

(भिडियो हेर्नका लागि माथिको फोटोमा क्लिक गर्नुहोला)

तपाईको प्रतिक्रिया