आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी छिमेकी चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधि मण्डल काठमाडौं आएको छ । एयर चाइनाको जहाज चार्टर्ड गरेर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आज दिउँसो साढे १ बजेतरि काठमाडौं ओर्लिएको हो ।

चीनबाट चिनियाँ कम्युनिस्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोली काठमाडौं आएका हुन् । नेपाल र चीनबीच अहिले व्यावसायिक उडान सञ्चालन भइरहेको भए पनि उक्त टोली सिचुवान प्रान्तको राजधानी छेन्दुबाट जहाज चार्टर्ड गरेर काठमाडौं आएको हो । काठमाडौं ओर्लिएसँगै चिनियाँ कम्युनिष्ट पार्टीको टोली बालुवाटारस्थित चिनियाँ दूतावास गएको छ ।

उक्त टोलीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका दुवै खेमाको नेतृत्व र कांग्रेसका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ । यद्यपि, भेटवार्ताको कार्यतालिका शनिबारसम्म सार्वजनिक भएको छैन । चीनले नेपालमा स्थिरता, सुशासन र विकासका लागि नेकपाको झन्डै दुईतिहाइ जनमतको सरकार आफ्ना लागि पनि भरपर्दो शक्ति हुने विश्वाससाथ सम्बन्ध विकास गरेर लैजान चाहेको थियो । सोही कारण पनि नेकपाभित्रको विवादलाई उसले नजिकबाट हेर्दै आएको छ । विवाद मिलाउन उसले यो बीचमा निकै मिहिनेत पनि गरेको थियो ।

प्रधानमन्त्री ओलीको कदमपछि नेकपामा आएको विभाजनले चीनलाई चिन्ता र सक्रियता उत्तिकै मात्रामा बढाएर लगेको छ । त्यसपछि चिनियाँ राजदूत होउ यान्छीले नेकपा नेताहरूसँगको दौडधूप बाक्लो बनाइन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, स्थायी समिति सदस्यहरू वर्षमान पुनदेखि कृष्णबहादुर महरासम्म भेट गरेकी थिइन् । नेकपा विभाजनपछिको परिस्थितिबारे चासो राख्दै भएको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । कुओ अन्तर्राष्ट्रिय विभागमा ३३ वर्षदेखि कार्यरत छन् । विभागका चार जना उपमन्त्रीमध्ये कुओ सबैभन्दा सिनियर नेता हुन् ।

तपाईको प्रतिक्रिया