आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकटका राईलाई हटाउने उद्देश्यका साथ   प्रचण्ड–माधव नेपाल पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन् । त्यसका लागि हस्ताक्षर अभियान अन्तिम चरणमा पुगेको प्रचण्ड–नेपाल समूहका एक सांसदले बताए ।

ती सांसदका अनुसार आफूविरुद्ध हस्ताक्षर अभियान सुरु भएको सुइँको पाएर नै राईले शनिबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका थिए ।
बर्खास्तीमा परेपछि प्रचण्ड–नेपाल समूहका आङबोले पनि अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले नै बाटो खुला गरिदिएको प्रतिक्रिया दिएका छन् ।

प्रदेश नम्बर १ को प्रदेशसभामा ९३ सदस्य रहेका छन् । जसमा सत्तारुढ नेकपाको ६७ सदस्य रहेकोमा दुई दर्जनको हाराहारीमा मात्रै ओली समूहका रहेको बताइएको छ ।
जसका कारण मुख्यमन्त्री राई अल्पमतमा रहेका छन् ।

यसअघि प्रचण्ड–नेपाल समूहले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ भने सोही प्रयोजनका लागि ३ मन्त्रीले राजीनामा समेत दिएका थिए ।
पुस ५ मा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसँगै नेकपा विभाजित बन्दा प्रदेश सरकारमा पनि त्यसको असर पर्न थालेको हो ।

तपाईको प्रतिक्रिया