काठमाडौं – कोरोना महामारीका लामो समयसम्म गरिएको बन्दाबन्दीले सुनसान बनेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान सञ्चालन हुने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल संघ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो ।
यसका लागि अन्तिम तयारीसमेत सुरु भइसकेको व्यवसायीले बताएका छन् । नेपालको सातवटै प्रदेशमा पुगेर ‘सौराहा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्ने योजना बनाइएको छ । पर्यटन दिवसको दिनदेखि लामो समयदेखि बन्द रहेका यहाँ होटल तथा रेष्टुरेण्ट खुलेका थिए । दसैँअघि नै यो अभियान चलाउन छलफल भए पनि कोरोनाका कारण स्थगित गरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए ।
विभिन्न शहरमा सौराहा आउन निमन्त्रणा दिने गरी यहाँका पर्यटकीय गतिविधिसहितको दृश्य देखाइने उनले बताए । कोरोनाका कारण सुनसान रहेको सौराहामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन भने छिटफुट देखिन थालेको छ । यो समय सौराहाका होटलमा खचाखच पर्यटक हुन्थे । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याई हुन्थ्यो । होटल तथा रेष्टुरेण्टले कोभिड प्याकेजअन्तर्गत २५ देखि ३० प्रतिशतसम्म छुट भने दिइरहेका छन् । भट्टराईले पाँच देखि सात प्रतिशत मात्रै पर्यटक आएको जानकारी दिए ।
व्यापार व्यवसाय ठप्प भए । त्यसैले नेपालीको क्रयशक्तिमा कमी आयो कि भनेर पर्यटन व्यवसायीले पनि साविकको दरमा २० देखि ३० प्रतिशत छुट दिइरहेका छन् । सामूहिकभन्दा व्यक्तिगत छुट प्याकेज गर्ने र त्यसबाट पर्यटक बढे सामूहिक कार्यक्रम ल्याउने सल्लाह भएको भट्टराईको भनाइ छ तर पनि छुटमा पर्यटक आकर्षित नभएको व्यवसायीको गुनासो छ ।
होटलभन्दा रेष्टुरेन्टमा पर्यटक केही धेरै छन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले अन्तर जिल्लाका पर्यटकको आवागमन रहेको र करिब ३० प्रतिशत पर्यटक रेष्टुरेण्टमा आउने बताए । छुटसहितका प्याकेज दिँदा पनि आन्तरिक पर्यटक आकर्षित नभएको भन्दै सरकारले चाँडै अन्तर्राष्ट्रिय हवाई उडान खोल्नुपर्नेमा व्यवसायीको माग छ । सौराहामा ठूला साना १४० वटा होटल छन् भने करिब ५० वटा रेष्टुरेण्ट सञ्चालनमा रहेका छन् ।