टोकियो – टोकियो महानगरपालिकाले सम्पूर्ण मादक पदार्थ बिक्रि हुने रेष्टुरेन्ट, कारावोकेहरुलाई राती १० बजेपछि आफ्ना सेवा बन्द गर्न फेरि आग्रह गरेको छ ।
आजको पत्रकार सम्मेलनमा टोकियोकी गभर्नर यूरिको कोइकेले आउँदो शनिबारदेखि डिसेम्बर १७ तारिकसम्म तीन हप्ताका लागि आफ्नो सेवा अवधि छोट्याई भाइरस रोकथामको कदममा सहयोग गर्न व्यवसायीहरूलाई अनुरोध गरेकी छन् ।
कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न गरिएको प्रयासमा आफ्नो सेवा राति १० बजे सम्मका लागि सीमित गर्ने व्यवसायीहरुलाई स्थानीय सरकारले दुई लाख येनदेखि चार लाख येनसम्म सहयोग उपलब्ध गराउने भनिएको छ ।
यस अघि सरकारले अगष्टको सुरु देखि सेप्टेम्बरको मध्यसम्म आफ्नो सेवा अवधि छोट्याउने साना र मध्यम आकारको व्यवसायहरूलाई २ लाख देखि साढे ३ लाख येन सम्मको सहयोग प्रदान गरेको थियो ।
अहिले टोकियो महानगरपालिका २३ वटा वडा र पश्चिमी टोकियोको तामा क्षेत्रका रात्रीकालिन व्यवसायलाई राती १० बजे पछी नखोल्न अनुरोध गरिने भएको हो ।***