शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – यस वर्षको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्म ‘जुलुंगो’ छनोट भएको छ । राजेशप्रसाद खत्री निर्देशित यस चलचित्र बुसानको ‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिशन’ अन्तर्गत छनोट भएको हो ।

‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिशन’ प्रतिस्पर्धाका लागि १० एसियाली फिल्म छनोटसँगै जुलुंगो पनि परेको हो । नेपाल, फ्रान्स र हङकङको संयुक्त निर्माणमा बनेको यस फिल्मका निर्माताहरु र भाम (नेपाल), क्याथरिन डसार्ट (फ्रान्स) र शुक फोङ चोक (हङकङक) हुन् ।

कोरियाको प्रतिष्ठित एसियाली फिल्म फेस्टिभल बुसानमा छनोट भएपछि निर्माण टोलीले बिहिबार ‘जुलुंगो’को पोस्टर सार्वजनिक गरेको छ ।

मुगुको परिवेशमा एक बालिकाले आफ्नो पढ्ने रहरलाई आफैंभित्र राखेर घरायसी काममा सीमित रहनुपर्ने बाध्यता नै जुलुङ्गोको कथावस्तु हो । पश्चिममा ‘भयाउने’ भनेर भनिने जुलुंगोको अर्थ बाली–नाली रक्षा गर्न राखिने मान्छे आकृतिको बुख्याँचा भन्ने हुन्छ ।

बुख्याँचा बनाउने जिम्मा पाएपछि आमालाई सहयोग गर्नुपर्ने कारणले स्कुल जानबाट वञ्चित भएकी नानीको कथा हो जुलुंगो । फिल्मा मुगुकै स्थानीय कविता बुढा, राधिका मल्ल, तारादेवी मल्ल, कविराज भाम लगायतको अभिनय रहेको छ ।

मुगुको दुर्गम गाउँका शिक्षक समेत रहेका निर्देशक राजेशप्रसाद खत्री आफ्नै वरिपरीका दुःख साट्न फिल्म निर्माणको हुटहुटी रहेको उनले बताए । उनले भने, “विद्यार्थीसँग मेरो गहिरो आत्मियताका कारण उनीहरुका व्यक्तिगत अनुभव र मेरो अवलोकनका उपज हुन्, मैले प्रस्तुत गर्ने कथा ।”

यस सेक्सनमा नेपालसहित इरान, भियतनाम, मलेसिया, फिलिपिन्स, भारत, मंगोलिया, कम्बोडिया, बंगलादेशको फिल्महरु छानिएका छन् । छानिएका अधिकांश फिल्महरु अन्तर्राष्ट्रिय सहकार्यमा निर्माण भएका छन् । यस सेक्सनको विजेताले ‘सोन्जि अवार्ड’का साथै १० हजार अमेरिकी डलर (करिब ११ लाख ७० हजार) पाउनेछ ।

योसँगै यस वर्ष बुसनमा दुई नेपाली फिल्म छनोट भएका छन् । यसअघि नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ मुख्य प्रतिस्पर्धामा छनोट भइसकेको छ ।

तपाईको प्रतिक्रिया