शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौँ – गत ९ चैतदेखि बन्द रहेको अन्तर्राष्ट्रिय उडान १६ भदौदेखि दैनिक ५ सय यात्रु मात्रै आउने गरी खुल्ने भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले दर्जनौँ सर्त राखेर उडान खोल्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको सर्तअनुसार पहिलो चरणमा विदेशी पर्यटक नेपाल आउन पाउनेछैनन् भने पिसिआर परीक्षण सहज भएका मुलुकबाट मात्रै नियमित उडान हुनेछ । जसअनुसार कतार, साउदी अरब र कुवेतलगायत पिसिआर परीक्षण सहज नभएका अन्य मुलुकमा नियमित उडान हुनेछैन ।

त्यस्तै, यात्रुले सात दिन होटेल क्वारेन्टाइनमा बस्ने होटेल बुकिङको प्रमाण पेस गर्नुपर्नेछ । सात दिन होटेलमा बसेपछि अर्को १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेछ । सोही सर्तअनुसार अहिले थोरै संख्यामा नियमित उडान खुलाउने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । उनले भने, ‘आन्तरिक उडान भने संक्रमण फैलन केही कम भएपछि खुलाउने गरी काम भइरहेको छ ।’

प्राधिकरणले १ भदौदेखि उडान खुलाउने सबै तयारी गरेको थियो । सोहीअनुसार एयरलाइन्स कम्पनीहरूले पनि स्वास्थ्य प्रोटोकलको तयारी थालेका थिए । संक्रमण फैलिएको भन्दै सरकारले १५ भदौसम्म उडान बन्द गर्ने निर्णय गरेको छ । नियमित उडान नभए पनि ३२ जेठयता अन्तर्राष्ट्रिय मात्रै ३ सय ३२ उद्धार उडानमार्फत ५२ हजार नेपाली स्वदेश फर्किसकेका छन् ।

सरकारको निर्णयअनुसार मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट नियमित उडान गर्न पाइनेछ । सबै एयरलाइन्सलाई समानुपातिक हिसाबले दैनिक ३ देखि ४ वटा नियमित उडान खुलाउन लागिएको छ । यात्रु सबैको उडानअघिको ७२ घन्टाभित्र आरडिटी वा पिसिआर नेगेटिभ भएको प्रमापणत्र हुनुपर्छ ।

त्यस्तै, सिसिएमसीको वेबसाइटमा रहेको फाराम भरी त्यसको बारकोड वा प्रिन्टेड कपी र सात दिन होटेल क्वारेन्टाइनमा बस्ने गरी बुकिङको प्रमाणसहित नेपाल नागरिक उड्डयन प्राधिकरणमा पेस गर्नुपर्नेछ । वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा बाहेक आएका यात्रुहरूको होटेल क्वारेन्टाइनमा बस्ने खर्च पनि एयरलाइन्सको टिकटबाटै काट्नुपर्नेछ । त्यस्तो होटेललाई एयरलाइन्सले नै भुक्तानी गर्नुपर्नेछ ।

आरडिटी–पिसिआर परीक्षण नगराएका, होटेल बुकिङ नगरेका वा अन्य सर्त पूरा नगरेका कुनै यात्रुहरू लिएर आएको वा अन्य कुनै अनियमितता गरेको पाइएमा सम्बन्धित वायुसेवा कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रचलित कानुनबमोजिम कारबाही गर्नेछ ।

यस्ता छन् सर्तहरू

पिसिआर परीक्षण सहज भएका मुलुकहरू मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट मात्रै नियमित उडान हुनेछ । साउदी अरब, कुवेत, कतारलगायत अन्य मुलुकबाट नियमित उडानबाट यात्रुहरू ल्याउन नपाइने व्यवस्था छ । नियमित उडानका लागि अनुमति नभएका श्रमिक रहेका मुलुकबाट चार्टर उडान हुनेछ ।

नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरू, संयुक्त राष्ट्रसंघ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई मात्रै आउन अनुमति दिइनेछ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को वेबसाइटमा रहेको नेपाल आउनेले भर्नुपर्ने अनलाइन फाराम भरेर सोको बारकोड वा प्रिन्ट कपी र कम्तीमा सात दिन होटेल क्वारेन्टाइनमा अनिवार्य बस्ने गरी होटेल बुकिङको प्रमाण साथमा लिई आउने सर्तमा उडानतालिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गर्नेछ ।

पिसिआर पोजेटिभ भएको प्रमाणपत्र भएका यात्रु सबैलाई दर्ता र स्वास्थ्य परीक्षणको कार्य सकिएपछि कम्तीमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र यसको अनुगमन स्थानीय तहले गर्ने निर्णय छ । होटेल क्वारेन्टाइनमा बस्नुपर्ने गरी हवाई उडानबाट नेपाल आउने यात्रुलाई हवाई टिकट जारी गर्दाकै अवस्थामा होटेल क्वारेन्टाइनमा कम्तीमा ७ दिन बस्दा लाग्ने खर्चसमेत सम्बन्धित यात्रुबाट लिइनेछ । यसरी उठाइएको होटेल क्वारेन्टाइनबापतको रकम सम्बन्धित होटेललाई भुक्तानी गर्ने दायित्व सम्बन्धित एयरलाइन्सको हुने भएको छ ।

वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिहरूबाहेक अन्य तरिकाले उद्धार उडानबाट नेपाल आउने नेपाली नागरिकहरू काठमाडौं उपत्यकाभित्रका होटेलमा आफ्नै खर्चमा कम्तीमा ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ । तर, पिसिआर नेगेटिभ मात्र भएका उडानबाट आएका नेपाली नागरिकलाई १४ दिन होम क्वारेन्टाइनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र यसको अनुगमन स्थानीय तहले गर्नेछन् ।

एउटै उडानमा पिसिआर नेगेटिभ भएका र पिसिआर परीक्षण नभएका व्यक्तिलाई मिसाएर ल्याउन नपाइने व्यवस्था गरिएको छ । पिसिआर नेगेटिभ भएका र पिसिआर परीक्षण नभएका व्यक्तिलाई एउटै उडानबाट ल्याएमा सबै यात्रु होटेल क्वारेन्टाइनमा बस्नुपर्ने र होटेलमा लागेको खर्च सम्बन्धित एयरलाइन्सले नै व्यहोर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया