शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौँ — कोभिड–१९ को जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थाका कर्मचारी संक्रमण हुने क्रम बढेको छ । यही क्रममा शनिबारसम्म प्राइम कमर्सियल बैंकका मुख्य कार्यालयमा कार्यरत डेढ दर्जन कर्मचारीमा कारोना संक्रमण पुष्टि भइसकेको छ । केही कर्मचारीको परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले संक्रमित संख्या अझै बढ्न सक्ने अनुमान छ ।

हालसम्म राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकसहित ग्लोबल आईएमई, एनएमबी, एभरेस्ट, सानिमा, एनआईसी एसिया, सिभिल, नेपाल एसबीआईलगायत झन्डै दुई दर्जन वाणिज्य बैंकका कर्मचारी संक्रमित भइसकेका छन् । सुरुका दिनमा उपत्यकाबाहिरका शाखामा कार्यरत कर्मचारीमा संक्रमण देखिएको थियो । पछिल्ला दिनमा काठमाडौं उपत्यकाका शाखा र तीनका पनि मुख्य कार्यालयमा कार्यरत कर्मचारी संक्रमित हुने क्रम उच्च छ ।

पछिल्ला दिनमा बैंकका कर्मचारीमा कोरोनाको जोखिम बढेकाले उच्च सतर्कता अपनाउनुपरेको बैंकर्स संघले जनाएको छ ।

कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई आइसोलेसनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित बैंक तथा वित्तीय संस्थाले बेहोर्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकले गत साता उक्त निर्देशन दिएको हो ।

आइसोलेसनमा रहने कर्मचारीलाई सो अवधिमा तलबसहित अतिरिक्त बिदाको व्यवस्था गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

तपाईको प्रतिक्रिया