आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – रामेन (ラ ー メ ン) जापानी परिकार हो जुन साधारणतया चीनबाट आएको मानिन्छ । तर रामेन जापानको प्राचिन स्वाद र मुख्य खाद्य वस्तुको रुपमा चर्चित छ ।

विश्व युद्ध २ पछि युद्धबाट फर्किएका भुपु सैनिकहरु मध्ये धेरैले चिनियाँ खाद्य परिकारबारे थाहा पाइसकेका हुनाले चिनियाँ रेष्टुरेन्टहरु पनि खोले । सस्तोमा अमेरिकाबाट ल्याइएको पिठोहरुले जापानी बजार भरियो । बिस्तारै बजार घुम्न जाँदा पिठोले बनेको आफ्नै प्रजातिको रामेन खाने चलन पनि विकास हुँदै आएको देखिन्छ । यसरी सन् १९८० को सुरुवातमा रामेन जापानी सांस्कृतिक पहिचान नै बन्यो । अहिले जापानमा रामेनका अनगिन्ति प्रकार छन् । र यहाँ प्राय: प्रत्येक क्षेत्रको आफ्नै रामेन बनाउने शैली छ ।

रामेनमा नुडल (メ ン) गहुँबाट बनेको हुन्छ र च्यासु (सुँगुरको तासिएका मासु -sliced pork),गाईको मासु, माछा, अण्डा, नोरी (समुद्री लेउ-dried seaweed), मेनमा (बाँसको टुप्पो) आदि राखेर सजाइन्छ । रामेन विभिन्न प्रकारका ब्रोथमा डुबाइन्छ र मशरूम, लीक, स्प्रिंग प्याज, कमलको जरा, टोफु र यस्तै अन्य सब्जीका साथ खाने गरिन्छ ।

कुनै सूप कुखुरा वा माछाको ब्रोथले बनेको हुन्छ भने कुनै सुँगुरको हड्डीले । कुनै सूपमा सोयु (醤 油, सोया सस), मिसो (味噌, सोयाबीन पेस्ट) राखिन्छ भने कुनैमा सामान्य नुन मात्र प्रयोग गरिन्छ । त्यस्तै रामेनको प्रकारमा ड्राई रामेन (आबुरा सोबा), चुकेमेन(ब्रोथ छुट्टै, नुडल छुट्टै) पनि प्रख्यात छन्।

यसरी हल्का खालको रामेन देखि बाक्लो र अधिक भारीसम्मको रामेनका सुपका प्रकार हुन्छन् । र सुप अनुसार रामेनको नाम छुटाइएको हुन्छ ।

त्यसैगरी कालो स्क्विड रामेन, नीलो कुखुराको रामेन, आरु रामेन, युजु साइट्रस रामेन, र धेरै नयाँ स्वादिष्ट शाकाहारी भेगन रामेनहरू भेट्टाउन सकिन्छ ।

सामान्य र लोकप्रिय विभिन्न शैलीका रामेन जापान भरी नै पाइन्छन् । जापानमा १०,००० भन्दा बढी रामेन पसलहरू अवस्थित छन् ।

पहिलो रामेन पसल सन् १९१० मा चीनमा खोलिएको बताइन्छ ।

तपाईको प्रतिक्रिया