शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौँ – नायिका पूजा शर्मालाई लक्षित गरी अपशब्द बोलेको भन्दै आलोचित भइरहेका चलचित्र पत्रकार प्रकाश सुवेदीले हातै जोडेर माफी मागेका छन्।

एपी वान टेलिभिजनबाट प्रसारण हुने ‘रजतपट’ का सञ्चालक सुवेदीले ३ मिनेट ४९ सेकेन्डको विशेष भिडियो बनाएर आफूले प्रयोग गरेको दारा भन्ने शब्द प्रयोग गर्न नहुने र आफूबाट गल्ती भएको भन्दै माफी मागेका हुन्।

यसबारे कार्यक्रममै (बिहीबार) कुरा गर्ने विचार भए पनि जुन प्रकारले ‘रेस्पोन्स’ (आलोचना) भइरहेको छ, त्यसले गर्दा त्यो कुरा तुरुन्तै भन्न मन लागेको पत्रकार सुवेदीले भिडियोमा बताएका छन्।

केही दिनअघि कार्यक्रम सञ्चालक सुवेदीले नायिका पूजा शर्मालाई लक्षित गरेर ‘महानायिका बनाइदिनुपर्ने, त्यो पनि दारा निस्केको अनुहारलाई’ भनेकाे भन्दै विरोध भइरहेको छ।

‘दारा’ शब्द प्रयोग गर्नु गल्ती भएको स्वीकार गर्दै सुवेदीले तर त्यो शब्द कसैप्रति लक्षित नभएकाे जिकिर गरेका छन्।

‘एक पटक होइन सयपटक भन्छु, सय पटकले पनि यहाँहरूलाई चित्त बुझ्दैन भने हजार पटक भन्छु, त्यत्तिले पनि पुग्दैन भने लाख पटक भन्छु गल्ती भएकै हो,’ उनले भिडियोमा भनेका छन्, ‘म चुकेकै हो, मैले माफी माग्नैपर्छ, आगे यहाँहरूकै मर्जी।’

 

 

 

 

तपाईको प्रतिक्रिया