शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – लकडाउन खुलेसँगै मुलुकमा कोरोना भाइरसको संक्रमण बढेकाले नयाँ निर्णय लिनेबारे तयारी थालिएको छ । संक्रमण नघटे नयाँ निर्णय लिनुपर्ने अनुमान गरेर कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशक समितिले छलफल थालेको हो ।

समितिले बिहीबार परीक्षणलाई अझ बढाएर परिस्थिति मूल्यांकन गर्ने विषयमा छलफल गर्यो । साउन ६ गते लकडाउन सकिएको घोषणा गर्दा मुलुकमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० थियो । तर पछिल्ला ९ दिनमा १५ जनाको मृत्यु भइसकेको छ । यस्तै, साउन ६ गते संक्रमित संख्या १७ हजार ९ सय ९४ थियो भने साउन १५ गतेसम्ममा उक्त संख्या बढेर १९ हजार ५ सय ४७ भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकमा सीसीएमसी सचिवालयले संक्रमणको स्थिति प्रस्तुत गरेको थियो । तथ्यांकको विश्लेषण गर्दै समितिका सदस्यहरूले एक–दुई दिन परीक्षणको दायरा बढाएर हेर्ने र त्यसपछि पनि संक्रमण बढेको पाइए नयाँ निर्णय लिनुपर्ने निचोड निकालेको हो ।

फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ : प्रवक्ता जागेश्वर गौतम
लकडाउन खुल्नुअघिको आठ दिन तीन प्रतिशतमा सीमित रहेको कोरोना सङ्क्रमण पछिल्ला आठ दिनको अवधिमा बढेर ३.७ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बन्दाबन्दी खुलेसँगै सबै सामान्यीकरणमा आएको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले कोभिड अगाडिको जस्तै सामान्य जीवनमा फर्किएका रुपमा नबुझ्न आग्रह गरे । कोरोना भाइरसको जोखिमकैबीचमा काम गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले उचित जनस्वास्थ्य सावधानी अपनाउन अनुरोध गरे ।

‘हामीले केही समयको लागि मात्रै लकडाउन खुलाएका हौँ । यसको हामी नतिजा हेर्छौं’ प्रवक्ता गौतमले भने- ‘के नतिजा आउँछ, हामी सुक्ष्म तरिकाले अध्ययन गरिरहेका छौँ । यदि संक्रमण बढ्न थाल्यो भने फेरि लकडाउन गर्ने अवस्था पनि आउन सक्छ ।’

तपाईको प्रतिक्रिया