शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस दशकौंदेखि चमेरोका शरीरमा रहेको हुन सक्ने बेलायती एक अध्ययनले संकेत गरेको छ । बेलायतमा गरिएको एक अध्ययनमा ४० देखि ७० वर्ष अघिदेखि चमेरोमा कोरोना भाइरस (कोभिड-१९) देखिएको हुन सक्ने बताइएको हो ।

त्यही भाइरस अहिले मानिससम्म पुगेको अध्ययनकर्ताहरुले बताएका छन् । वैज्ञानिकहरुको यो शोधसँगै कोरोना भाइरसका बारेमा चर्चा गरिएको ‘कन्स्पिरेसी थियरी’ पनि फितलो देखिएको छ । यो भाइरस ल्याबमा तयार पारिएको हो भन्ने एकखाले तर्कलाई यो अध्ययनले निराधार देखाएको छ ।

ग्लासगो विश्वविद्यालयका प्राध्यापक डेभिड रोर्बटसनले नेचर माइक्रोबायोलोजी जर्नलमा यससम्बन्धी शोधपत्र प्रकाशित गरेका हुन् । उनका अनुसार अहिलेको विश्वव्यापी महामारी सार्स-कोभ २ भाइरस आनुवंशिक रुपले चमेरोमा पाइने भाइरससँग निकै नजिक रहेको छ ।

समयक्रमसँगै चमेरोमा पाइने भाइरस सार्स-कोभ २ छुट्टिएको पनि प्राध्यापक रोबर्टसनले बताएका छन् । ‘यसको अर्थ यो हो कि, मानिसमा देखिएको कोरोना भाइरस केही समय पहिलेदेखि नै अस्तित्वमा थियो । तर हामीलाई अहिलेसम्म थाहा छैन कि कहिले र कसरी यो भाइरस मान्छेमा प्रवेश गऱ्यो,’ बीबीसीसँगको कुराकानीमा उनले भने, ‘यदि हामीले यसलाई चमेरोमा पाइने आम भाइरसको रुप मान्ने हो भने, हामीले यसबारेमा अझै अध्ययन र निगरानी गर्नुपर्नेछ ।’

भविष्यमा महामारी फैलनबाट रोक्नका लागि मानिसमा पाइएको भाइरस मात्रै होइन, चमेरोमा पाइने भाइरसका बारेमा पनि अध्ययन गर्नुपर्ने उनी बताउँछन् । यदि दशकौंदेखि यो भाइरस अस्तित्वमा रहेको भए अन्य जीवमा पनि उक्त भाइरस भेटिने सम्भावना रहेको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया