बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – अहिलेसम्म औषधि वा खोप पत्ता लाग्न नसकेको कोरोनाभाइरसबाट बिरामी भएकाहरूलाई स्वास्थ्य अवस्था हेरेर प्यारासिटामोलदेखि भिटामिनहरू र निमोनियाका वा श्वासप्रश्वासका बिरामीलाई त्यसैअनुसार औषधि दिने गरिएको चिकित्सकहरूले बताएका छन् ।

कोभिड-१९ भएका बिरामीलाई कस्तो औषधि दिने भनेर विश्व स्वास्थ्य सङ्गठनले निर्देशिका बनाएको छ । नेपाल मेडिकल काउन्सिलले पनि गत एप्रिलमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिलाई स्वास्थ्यसंस्थामा दिइने सेवाबारे एउटा अन्तरिम निर्देशिका जारी गरेको थियो ।

उक्त निर्देशिकाअनुसार कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्ति कुन वर्गको बिरामी हो त्यो छुट्याउन छवटा आधार तोकिएको छ । कोभिडका बिरामीहरूमा सामान्य ज्वरो, निमोनिया, गम्भीर निमोनिया, एआरडीएस, सेप्सिस वा सेप्टिक शक भएको हुनसक्छ ।

साठी वर्षभन्दा माथिका, दमका बिरामी, मधुमेह वा मुटुरोग भएका व्यक्तिहरूलाई सङ्क्रमण भए उच्च जोखिममा पर्ने हुनाले विशेष निगरानी आवश्यक पर्ने बताइन्छ ।

‘सामान्य औषधिदेखि एन्टीबायोटिकसम्म’
सङ्क्रमण देखिएर उपचार गरिरहेका बिरामीको स्वास्थ्यस्थिति, उमेर, अन्य रोग हेरेर त्यहीअनुसार औषधि दिने गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले बताए ।

“अक्सिजन नै चाहिने अवस्थाको मानिसलाई डेक्सामेथासेन भन्ने स्टेरोइड प्रयोग गर्छौं अथवा अवस्था हेरेर मिथाइलप्रेड्निसोलोनको पनि प्रयोग गर्छौं,” उनले भने । उनका अनुसार शरीरमा रगत जम्ने समस्या देखियो भने हेपारिन नामक औषधि पनि दिने गरिएको छ ।

कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका अधिकांश व्यक्तिमा सामान्य लक्षण पनि नदेखिएको सरकारको भनाइ छ । तर लक्षण देखिएका र बिरामी परेकामध्ये आठदेखि १० प्रतिशतलाई अरू सङ्क्रमण देखिएको अवस्थामा एन्टीबायोटिक दिने गरेको डा. बास्तोलाले बताए ।

उनी भन्छन्, “मुख्य कुरा भनेको अक्सिजन हो । त्यसबाहेक हामी सामान्य ज्वरो छ भने सिटामोल दिन्छौँ । खोकी छ भने कफ सिरप दिन्छौँ ।” उनका अनुसार अहिले बिरामीलाई दिइँदै आएको औषधिहरू सहज रुपमा उपलब्ध हुने औषधि हुन् ।

त्यसबाहेक विदेशतिर रेम्डिसिभिर नामक एन्टीभाइरल औषधिको प्रयोग हुने गरेको छ । नेपालमा भने त्यो उपलब्ध भइनसकेको जानकारी उनले दिए ।

आयुर्वेदिक उपचार
कतिपय क्षेत्रमा भने बिरामीहरूलाई आयुर्वेदिक औषधि दिएर पनि उपचार गरिने गरेको ती क्षेत्रका चिकित्सकहरूले बताएका छन् । प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका प्रमुख डा. शङ्करप्रसाद रिजालले उपचार गरिरहेका कोरोनाभाइरस सङ्क्रमित बिरामीहरूलाई आयुवेर्दिक औषधि खुवाउने गरिएको बताए ।

“लक्षण नदेखिएका सङ्क्रमितहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो, अश्वगन्धा, जेठीमधुजस्ता औषधि खुवाउने गरिएको छ,” उनले भने । यस्तै लक्षण देखिएका सङ्क्रमित बिरामीलाई भने सितोपलादि, त्रिकटु, मृगमदासव, कनकासव, कस्तूरीभूषणजस्ता औषधि दिने गरिएको जानकारी उनले दिए ।

बिरामीको स्वास्थ्य अवस्था हेरेर औषधि
सुर्खेतस्थित कर्णाली प्रदेश अस्प्तालका वरिष्ठ चिकित्सक के.एन. पौडेलले कोरोनाभाइरस सङ्क्रमित बिरामीलाई लक्षणअनुसारको उपचार गरिँदै आएको बताए । उनका अनुसार कोरोनाभाइरसबाट बिरामी भएकालाई ज्वरो आउँदा सिटामोल, पेट दुख्दा पीडा कम गर्ने औषधि र बिरामीको रोग प्रतिरोधात्मक शक्ति बढाउन भिटामिनहरू दिने गरिएको छ ।

त्यस्तै पछिल्लो समय सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको प्रदेश नं २ स्थित नारायणी अस्थायी कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहका लक्षणविहीन व्यक्तिलाई कुनै औषधि दिने गरिएको छैन । लक्षण भएका बिरामीलाई मात्र औषधि दिने गरिएको उनले बताए । बिरामीको अवस्था कस्तो छ र समस्या केके देखिएका छन् त्यसैअनुसार औषधि दिने गरिएको उनले बताए ।

“जीउ दुखेको वा ज्वरो आएको बिरामीलाई प्यारासिटामोल दिन्छौँ। प्रायः सबै बिरामीलाई दिने चाहिँ रोगप्रतिरोधी क्षमता बढाउने र एन्टीअक्सिडन्ट गुण भएको औषधि हो,” डा. सिंहले भने । त्यस्ता औषधिमा भिटामिन बी कम्प्लेक्स, क्याल्सीअम र भिटामिन सी पर्ने उनले बताए ।

अलि गम्भीर खालका बिरामीलाई अवस्था हेरेर आवश्यकताअनुसार डेक्सामेथासोन, विभिन्न एन्टीबायोटिक र अन्य औषधि दिने गरिएको उनले बताए । सरकारी तथ्याङ्कअनुसार देशभरि कोरोनाभाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५,००० भन्दा बढी छ ।

तपाईको प्रतिक्रिया