आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उदघोष गरेसँगै सीता गुफा क्षेत्र एकाएक चर्चामा आएको थियो ।

प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालले जानकारी दिए ।

प्रहरी निरीक्षक दाहालले भने, – ‘ठोरीवासीले शनिबार बिहान सीता गुफा क्षेत्रमा पूजापाठ गरेका थिए । अमृतधाराबाट जल भरेर स्थानीयले कलश यात्रासमेत गरेका थिए । शनिबार मध्यान्ह १२ बजेसम्म सीमा स्तम्भ सुरक्षित नै थियो । भारतीय सीमा सुरक्षाबल (एसएसबी)का इन्सपेक्टरसमेत सो क्षेत्रमा खटिएका थिए । पूजापाठ सकिएपछि सबैजना आ–आफ्नो घर गइसकेपछि मात्रै दुवैतर्फका सुरक्षाकर्मी क्याम्पमा फर्केका थियौं । तर शनिबार अपरान्ह एकाएक सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा पायौं ।’

ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बिहान पूजापाठ हुँदासम्म नेपाल–भारत सीमामा अवस्थित सीमा स्तम्भ देखिएको तर अपरान्ह एकाएक नदेखेको बताए ।

अध्यक्ष श्रेष्ठले भने, -‘हामी बिहानैदेखि पूजापाठमा व्यस्त थियौं । सो समयमा सीमा स्तम्भ सुरक्षित रुपमा नै देखेका थियौं, पूजापाठ सकेर सबै जना फर्किएपछि सीमा स्तम्भ नरहेको खबर पाएँ ।’

गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले अयोध्या भूमिको रुपमा एकाएक चुलिएको चर्चालाई मत्थर पार्न सीमा स्तम्भ उखेल्ने काम भएको हुन सक्ने बताए | प्रहरी निरीक्षक दाहालले भने, ‘सीमा स्तम्भ पनि गहिरो गरी गाडिएको रहेनछ । करिब एक हात बराबर गहिरो बनाएर गाडिएको रहेछ । सीमा स्तम्भ रहेको स्थानभन्दा केही मिटर टाढा सीमा स्तम्भ फेला पारेका छौं । सीमा स्तम्भ उखेलिएको बारे माथिल्लो निकायमा जानकारी गराइसकेका छौं । भारततर्फका एसएसबी बल र हाम्रो टोलीले उखेलेर फालिएको अवस्थामा फेला परेको सीमा स्तम्भको सुरक्षा गरिरहेका छौं ।’
सीमा स्तम्भ कसले र किन उखेलेर फाल्यो भन्ने विषयमा केही खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको दाहालले बताए । प्रधानमन्त्री ओलीले भगवान रामको जन्म ठोरीमा भएको अभिव्यक्ति आएसँगै सो क्षेत्रमा मानिसहरुको चहलपहल बढ्दै गएको छ । शनिबार गाउँपालिकाले कलश यात्रा अयोजना गर्दै भव्य पूजाअर्चना गरेको थियो । ***

तपाईको प्रतिक्रिया