शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको शक्ति संघर्षमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही लचक हुने संकेत देखाएका छन् ।

विशेषगरि शुक्रबार दिउँसो बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठकलाई स्थगित गरेपछि ओली केही हच्किएको र एक स्टेप ब्याक भएको टिप्पणी नेकपाका नेताहरुले नै गर्न थालेका छन् । यसको एउटा कारण हो, प्रधानमन्त्री ओलीले नेकपा केन्द्रीय कमिटीको बैठक बोलाउन आनाकानी गर्नु ।

केही दिन यता ओलीइतर समूहले नेकपामा केन्द्रीय कमिटी बैठक बोलाउनै पर्ने धारणा राख्न थालेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भइरहेका बैठकमा पनि नेताहरुले केन्द्रीय कमिटी बैठक बोलाउनु नै अबको विकल्प भएको निष्कर्ष निकालेका छन् । उनीहरुले निकालेको निष्कर्षबारे ओलीसँग पनि प्रचण्ड र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले सल्लाह गरिसकेका थिए ।

शुक्रबार नै तय भएको स्थायी कमिटी बैठकमा नै यो अजेन्डा पनि समावेश गर्ने तयारी प्रचण्ड समूहको थियो । तर, शुक्रबार एकै दिन दुई पटक स्थायी कमिटी बैठक सारियो । अब आइतबारका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि हुने या नहुने भन्ने निश्चित भइसकेको छ ।

तर, प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग गरिरहेको प्रचण्ड-नेपाल समूहले आफ्नो मागबाट पछाडि नहट्ने संकेत देखाइसकेको छ । यही दबाबका कारण ओलीले अहिले केन्द्रीय कमिटी बैठक बोलाउन आनाकानी गरेको हुनसक्ने आशंका नेकपाका एक स्थायी कमिटी सदस्यले गरेका छन् ।

‘अहिले अर्को समूहले जसरी ओलीसँग एकोहोरो दुवै पद छोड्न माग राखिरहेको छ, ओली त्यसका लागि तयार छैनन् । तर, पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजाने र आफूले देखेको समृद्ध देशको सपनालाई पनि पूरा गर्ने उहाँको चाहना छ । त्यसैले उहाँले अध्यक्ष पद छोडेर सरकारको नेतृत्व मात्र आफूले गर्छु भन्ने कुरा बैठकमा राख्न सक्नुहुन्छ’ एक नेताले भने ।

नेकपा सचिवालय बैठक आज
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दैछ । पार्टीको आन्तरिक विवाद समाधानका लागि बैठक बस्न लागेको हो ।

केही समय यता नेकपा चरम विवादमा फसेको छ । सरकारका क्रियाकलाप तथा पार्टी एकताका बाँकी प्रक्रियामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्न थालेको भन्दै पार्टीमा आन्तरिक असन्तुष्टि बढेको हो ।

तपाईको प्रतिक्रिया