शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ८४ लाख ५५ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ८४ लाख ५५ हजार १ सय ६५ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ५ लाख ९९ हजार ३३९ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड ४१ लाख ८९ हजार २० छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ४२ हजार ६४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ३७ लाख ७० हजार १२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७४ हजार ९८७ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ९४६ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या २० लाख ४८ हजार ६९७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ११० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७७ हजार ९३२ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ हजार २८५ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ८२० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संऋया १० लाख ४० हजार ५५७ पुगेको हो ।

तपाईको प्रतिक्रिया