आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका-५ गोलढुङ्गामा स्थानीयको कुटाइबाट एकजनाको मृत्यु भएको छ । टोलवासीले रक्सी खाएर आएको व्यक्ति चोरी गर्न गाउँ छिरेको भन्दै कुटपिट गरेका थिए ।

प्रहरीका अनुसार गएराति १ बजेको समयमा चोर भन्दै टोलका व्यक्तिहरुको कुटाइबाट रसुवा घर भइ हाल कपुरधारा बस्दै आएका छिरिङ तामाङ मृत्यु भएको हो । कुटपिटबाट रसुवाकै दोर्जे तामाङ घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार मृतक तामाङ र उनका एकजना साथी मध्यरातमा मदिरा सेवन गरेर सो क्षेत्र पुगेका थिए । उनीहरु गोलढुङ्गामा पुग्दा कुकुर भुकेछ । त्यही क्रममा चोर भन्दै टोलका व्यक्तिहरुले आक्रमण गरे ।

कुटपिटपछि उनीहरु घाइते भएर लडेका थिए । तर, स्थानीयले रक्सी खाएर नाटक गरेको भन्दै उनीहरुलाई समयमा नै अस्पताल पुर्‍याएनन्। साढे १ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो ।

त्यसपछि उनीहरुलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएको केही समयमा नै उनको मृत्यु भएको हो । कुटपिटमा संलग्न भएको अभियोगमा प्रहरीले केही मानिसलाई नियन्त्रणमा लिएको छ । कोको संलग्न थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया