बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका एक जना पाइलटमा कोरोना संक्रमण देखिएको छ ।

हिमायल एयरलायन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठका अनुसार, कोरोना पोजिटिभ देखिएका पाइलट मेक्सिकन नागरिक हुन् । उनी हाल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका निगरानीमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ ।

सानो गौचरनस्थित एक अपर्टामेन्टमा एक अर्का पाइलटसँगै बस्दै आएका ती पाइलट हिमालय एअरलाइन्सका लाइन ट्रेनिङ क्याप्टेन हुन् । उनका अर्का साथीलाई भने कोरोना नदेखिएको श्रेष्ठले बताए । ‘उनको पीसीआर परीक्षण पोजिटिभ देखिएपछि उनीसँगै उडेका अन्य चालक दलका सदस्यको पनि स्वास्थ्य जाँच गरिएको थियो तर सबैको रिपोर्ट नेगेटिभ आयो,’ श्रेष्ठले भने ।

हिमालय एयरलायन्सका एक पाइलटका अनुसार, ती मेक्सिकन पाइलटमा कोरोना देखिएपछि हिमालयले इमेलमार्फत अरु पाइलट, क्याबिन क्रूलाई सर्तकता उपनाउन निर्देशन दिएको छ । चार वटा एयरबसका न्यारोबडी जहाज भएको हिमालय एयरलायन्समा १८ विदेशीसहित ४३ जना पाइलट र करिब ८० जना एयरहोस्टेस छन् । हिमालयले हरेक कार्गो तथा उद्धार उडानअघि र पछि चालक दलका सदस्यको आरडीटी परीक्षण गरेर पठाउने जनाएको छ ।

यी पाइलटअघि हिमालयकै एक जना एयरहोस्टेसमा आरडीटी परीक्षणमा एन्टिबडी पोजिटिभ देखिएको थियो । तर, उनको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनी काममा फर्किएको एयरलायन्सले जनाएको छ । ईकान्तिपुरबाट

तपाईको प्रतिक्रिया