आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – सन् ८० को दशकको हलिउड फिल्म ‘ब्लेड रनर’ मा त्यो समयभन्दा ४० वर्ष अगाडि २०१९ को कथा देखाइएको थियो । उक्त फिल्ममा कल्पना गरिएजस्तो कृत्रिम मानवको निर्माण अझै सम्भव भइसकेको छैन । जापानी वैज्ञानिक हिरोसी इसिगुरो यस्तो प्रविधिमा काम गरिरहेका छन् जसले मानिस र मशिनबीचको अन्तर निकै कम गर्न सक्नेछ ।

जापानको एक अनुसन्धानशालामा रोबोर्ट वैज्ञानिक हिरोसी मानिसजस्तै मसिन बनाउने प्रविधिमा काम गरिरहेका छन् ।

इसीगुरो र उनको टोलीका अनुसार भविष्यको रोबोर्ट निकै बुद्धिमान, सजग र सहयोगी हुनेछ । उसले मानिसले जस्तै व्यवहार गर्नेछ र साथी बन्न सक्नेछ ।

ओसाका विश्वविद्यालयका प्राध्यापक इसिगुरोले भनेका छन्, “मलाई थाहा छैन, ‘ब्लेड रनर’ कहिले साकार होला तर, हामीले प्रत्येक वर्ष प्रविधिमा ठूलो फड्को मारिरहेका छौं ।  रोबोटमा ‘डीप लर्निंग’ को क्षमता विकास गर्न सकेका छौं । अब इच्छा र मोहमा काम गरिरहेका छौं । यो साकार भयो भने रोबोर्ट अझ बढी मान्छे जस्तो हुनेछ ।”

जापानमा अहिले पनि खाना बनाउनेदेखि विरामीको हेरचाहका काममा रोबोटको प्रयोग भइरहेको छ । जापानमा विरामीलाई रोबोटले ह्विलचेयरमा राखेर घुमाउने त सामान्य भइसकेको छ । वैज्ञानिकहरुका अनुसार सर्भिस रोबोटले कुनै दिन फोहोर सफा गर्नेदेखि स्वादिस्ट खाना बनाउने जस्ता घरका सबै काममा सहयोग गर्नेछन्  र यो सुलभ हुनेछ ।

इसिगुरोले यसअघि आफूजस्तै कपि रोबोट बनाइसकेका छन् । उक्त रोबोर्टलाई उनलाई एकपटक आफू उपस्थित हुनुपर्ने बैठकमा पठाएर सबैलाई आश्चर्यमा पारेका थिए ।

रोबोटिक्स र आर्टिफिशियल इन्टिलिजेन्सको क्षेत्रमा हालै भएको खोजले मानिस र मशिनबीचको समानता बढ्ने उनी बताउँछन् । भन्छन्, “एक वैज्ञानिकका रुपमा मलाई विश्वास छ, एक दिन यस्तो रोबोर्ट बन्नेछ जसको आत्म चेतना ‘ब्लेड रनर’ जस्तै हुनेछ ।”

(नेपाल समयबाट)

तपाईको प्रतिक्रिया