बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

टोकियो – हालै घोषणा गरिएको विश्वको सबैभन्दा द्रुत सुपर कम्प्यूटर कोरोनाभाइरस विरूद्धको लडाईमा तैनाथ गरिएको छ।

जापानको ‘फुगाकु’ सुपर कम्प्युटरले सोमबार शीर्ष स्थानको दाबी गरेको छ र यो अमेरिकामा भएको आईबीएम मेशीनको तुलनामा प्रति सेकेन्ड २.८ गुणा बढी गणना गर्न सक्ने बताईएको छ।

समिट नामक अमेरिकी सुपर कम्प्युटर यसअघि पछिल्ला चार पटक अर्द्ध वार्षिकमा जारी गरीने सूचीको शीर्षमा आएको थियो।

फुगाकुको जीतले हाल अमेरिका र चीनको सुपर कम्प्युटर क्षेत्रको प्रभुत्वको लामो दौड तोडेको छ । यसले ११ वर्षको लामो अवधिपछि पहिलो पटक जापानलाई पुन: शीर्ष स्थानमा फर्काएको छ।

टप ५०० ले विश्वको सबभन्दा शक्तिशाली सुपर कम्प्युटर प्रणालीको सूची तयार पार्ने गर्दछ।

फुगाकुलाई यसअगाडि देखि नै कोरोनाभाइरस विरुद्ध लड्न तैनाथ गर्ने काम भैसकेको छ, कम्प्युटरले कसरी हाछ्यूँ गर्दा वा खोकीबाट आउने कफको छिटाहरू अफिसहरू वा खुला झ्यालहरु भएका ट्रेनहरूमा फैलिन सक्छन् भनेर भविष्यवाणी गरिरहेको छ ।

जब यो पूर्णरूपमा अर्को वर्ष संचालनमा आउनेछ त्यसपछि मेसिनले भाइरसको लागि प्रभावकारी उपचारहरूको खोजीमा पनि सहयोग पुर्‍याउन सक्ने विज्ञहरूले आशा गरेका छन्।

एउटा कोठा बराबरको यो मेसिन कोबे शहरमा अबस्थित छ र जापानी प्रविधि फर्म फुजीत्सु र सरकारद्वारा समर्थित रिकेन इन्स्टिट्यूटद्वारा छ बर्षको अवधिमा विकसित गरिएको हो । यस सुपर कम्प्युटरको नाम माउन्ट फुजी पर्वतबाट प्रेरित भएर राखिएको हो ।

यो जापानी सुपर कम्प्युटरको प्रदर्शन ४१५.५३ पेटाफ्लपमा मापन गरिएको थियो, दोस्रो स्थानमा रहेको समिटले १४८.६ पेटाफ्लप मापन गरेको थियो ।

तपाईको प्रतिक्रिया