शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो– जापानी विमान सेवा कम्पनी जापान एयरलाइन्स (जेएएल) ले हरेक कर्मचारीलाई १ लाख ५० हजार येनसम्म विशेष भत्ता दिने भएको छ । कोरोना भाइरसको महामारीका कारण खस्किएको कर्मचारी मनोबललाई टेवा दिन जुलाईको शुरुमा सो भत्ता दिन लागिएको हो । यो सुविधा कम्पनीका लगभग सबै कर्मचारी र यसका समूह कम्पनीका कर्मचारीसमेत गरेर करीब ३६ हजार जनालाई दिइनेछ ।

कोरोना भाइरसको महामारीका कारण कम्पनीको आम्दानी घटेसँगै जेएएलले गर्मीयामको बोनस आधामा झार्न खोजिरहेको छ । यस्तो अवस्थामा कर्मचारीको मनोबललाई टेवा दिन यो उपाय ल्याइएको स्रोतहरुले बताएका छन् ।

कम्पनीका चेयरमेन योशिहारु यूइकी र प्रेसिडेन्ट युजी आकासाकाले बोनश पाउने छैनन् । अन्य कार्यकारीको बोनस भने ७० प्रतिशत कटौती गरिने समेत स्रोतको भनाइ छ । भत्ता भुक्तानीको लागि करीब ५ अर्ब येन खर्च लाग्ने अनुमान गरिएको छ । यो रकमले सञ्चार र टेलिवर्किङसँग सम्बन्धित अन्य लागतको समेत भरपाई गर्ने अपेक्षा गरिएको छ । मार्चयता नै कार्यालयमा उपस्थिति दर ६० प्रतिशत वा त्यो भन्दा तलमा झार्न कम्पनीले कर्मचारीहरुलाई घरबाटै काम गर्न प्रोत्साहन दिइरहेको छ ।

तपाईको प्रतिक्रिया